नयाँ दिल्ली – उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायद्वारा आयोजित ‘लड्डू महोत्सव’ का क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन्। बागपतका जिल्ला अधिकारी अस्मिता लालले पाँच जनाको मृत्यु पुष्टि गर्दै ५० भन्दा बढी भक्तजन च्यापिएको जानकारी दिएको भारतीय संचार माध्यमले जनाएका छ्न।

घटना भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा भएको हो। मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर राहत कार्य तीव्र बनाउन र घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्।
उपचारका लागि एम्बुलेन्स अभाव हुँदा धेरै घाइतेलाई इ–रिक्सामार्फत अस्पताल पुर्याइएको जनाइएको छ । प्रशासनले घटना अनुसन्धान र पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएको छ ।

