
- आफूमाथि लागेका सेयर लगानीसम्बन्धी आरोपहरू तथ्यहीन र आधारहीन रहेको गृहमन्त्रीले स्पष्ट पारेका छन्।
- सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको र लगानीको स्रोतसमेत पारदर्शी रहेको उनले जिकिर गरेका छन्।
- अदालत वा सम्बन्धित निकायको छानबिनलाई सघाउने र सत्य तथ्य प्रमाणका आधारमा हुने बताउँदै उनले आरोपको खण्डन गरेका छन्।
काठमाडौ – गृहमन्त्रीद्वारा आफ्नो नाम जोडिएको विषयमा स्पष्टीकरण, दिएका छन उनले सामाजिक संजाल बाट उक्त बिषयमा स्पष्टीकरण दिएका छ्न हालै आफ्नो नाम जोडेर विभिन्न चर्चा र आरोपहरू सार्वजनिक भइरहेका सन्दर्भमा गृहमन्त्रीले विस्तृत स्पष्टीकरण दिएका छन्। विषय जटिल ढंगले प्रस्तुत गरिएको भन्दै उनले तथ्यलाई सरल रूपमा बुझ्न आग्रह गरेका छन्।

गृहमन्त्रीका अनुसार “२५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको” भन्ने आरोप तथ्यमा आधारित नभएको बताएका छन्। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको कुरा सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको दाबी गरेका छन्। उक्त विवरण मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक रूपमा उपलब्ध रहेको उनको भनाइ छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहअन्तर्गत समेटिएको उनले स्पष्ट पारे।
मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयलाई लिएर उठेका प्रश्नमा उनले सेयरमा लगानी गर्नु कुनै अपराध नभएको जिकिर गरे। सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट अभिलेख रहेको उल्लेख गर्दै उनले यस्तो रकम लुकाउन सम्भव नरहेको बताए।
लगानीको स्रोतबारे प्रष्ट पार्दै गृहमन्त्रीले आफूले कर्जा (ऋण) मार्फत रकम जुटाएको र त्यससम्बन्धी तमसुक २०८०/०५/२९ मा तयार भएको जानकारी दिएका छन्। उक्त रकम बैंकमार्फत आएको र सोही रकम लगानीमा प्रयोग गरिएको उनले बताए।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर खरिद गर्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। सोही कम्पनीमा बैंक, मिडिया हाउस लगायत विभिन्न संस्थाको लगानी रहेको उल्लेख गर्दै सबैलाई एउटै आधारमा दोषी ठहर गर्नु न्यायोचित नहुने बताए।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपबारे उनले यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले गर्ने बताए। प्रक्रिया अनुसार छानबिन अघि बढिरहेको र आफूबाट कुनै हस्तक्षेप नभएको उनले स्पष्ट पारे। लगानी गर्दा पृष्ठभूमि नजाँचेको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गरे। पछि भएका घटनालाई अघि गरिएको निर्णयसँग जोडेर व्याख्या गर्नु तथ्यभन्दा बाहिर रहेको उनको भनाइ छ। कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया नदिएको उनले स्पष्ट पारे। “हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ,” उनले भने।
पार्टीको नारा र व्यक्तिगत व्यवहारबीच अन्तर देखिएको भन्ने टिप्पणीप्रति उनले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोका रूपमा व्याख्या गर्नु गलत भएको बताए। लगानी र बिचौलियापन फरक विषय भएको उनले जोड दिए।
अन्त्यमा गृहमन्त्रीले आरोप र सत्य एउटै नभएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। साथै, पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
