
- टर्कीको एक विद्यालयमा भएको गोलीबारीमा ९ जना (८ विद्यार्थी र १ शिक्षक) को मृत्यु भएको छ।
- वर्षीय विद्यार्थीले गोली चलाएका थिए र आक्रमणकारी स्वयं पनि मारिएका छन्।
- घटनामा १३ जना घाइते भएका छन् र मंगलबार सोही क्षेत्रमा अर्को गोलीबारी भएको थियो।
काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलीबारीमा ९ जनाको ज्यान गएको छ । घटनामा ८ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको पुष्टि गरिएको छ ।

मुस्तफा सिफ्सीका अनुसार कहरामनमारास क्षेत्रस्थित आयसर क्यालिक सेकेन्डरी स्कुलमा बुधबार भएको उक्त घटनामा थप १३ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रारम्भिक विवरणअनुसार १४ वर्षीय एक विद्यार्थीले दुई वटा कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणका क्रममा प्रयोग भएका पाँच थान बन्दुक र सात म्यागेजिन बरामद भएको बताइएको छ । घटनाका क्रममा आक्रमणकारी स्वयं पनि मारिएको जनाइएको छ ।
घटनाको कारण अझै खुलेको छैन । बीबीसीका अनुसार आक्रमणकारीका बुवा सेवानिवृत्त प्रहरी अधिकारी रहेको खुल्न आएको छ ।
यसअघि मंगलबार पनि सोही क्षेत्रको एक हाई स्कुलमा पूर्वछात्रले गोली चलाउँदा १६ जना घाइते भएका थिए । उक्त घटनापछि आक्रमणकारीले आत्महत्या गरेका थिए ।
