काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (हर्क साम्पाङ) ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मेयर साम्पाङले आइतबार निवेदन दिएका हुन्। उनले दलको नाम “श्रम संस्कृति पार्टी” रहने प्रस्ताव गरेका छन् भने चुनाव चिह्नका लागि माटाको ढिस्को रोजिएको छ।
प्रवक्ता भट्टराईले जानकारी दिँदै भने, “हर्कराज राईलाई पार्टी संयोजक बनाइ दल दर्ताका लागि निवेदन पर्न आएको छ,”।
लामो समयदेखि तयारी गरि रहेका मेयर साम्पाङले केही समयदेखि दल दर्ताको तयारी गर्दै आएका थिए। सामाजिक सञ्जाल र जनसभामार्फत उनले राजनीतिक संगठित यात्रा अगाडि बढाउने संकेत दिंदै आएका थिए।
उनी स्थानीय चुनावबाट चर्चामा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चिह्न लिएर प्रतिस्पर्धा गरेका साम्पाङ २० हजार ८२१ मत प्राप्त गर्दै धरानका मेयर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए।
उनको उम्मेदवारी र विजयलाई त्यसबेला देशभर चर्चा गरिएको थियो। सामान्य जनजीवनसँग नजिकको प्रचारशैली, सादगीपूर्ण छवि र परिवर्तनको चाहनाले उनलाई लोकप्रिय बनाएको विश्लेषण गरिएको थियो ।
नयाँ दलको भविष्यतर्फको दृष्टि गेर्दा अब साम्पाङले दर्ता प्रक्रियापछि दललाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेका छन्। श्रम र संस्कृतिलाई केन्द्रविन्दुमा राखेको पार्टी नाम र चुनाव चिह्नले जनताको मन जित्ने रणनीति लिएको उनको नजिक भएर काम गर्ने केही जानकार हरुले नेपाल खोज खबर लाई बताएका छ्न ।
