काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रन्जिता श्रेष्ठ चौधरीसँगको सबै सम्बन्ध समाप्त भएको बताएका छन्।

आइतबार नेपाल खोज खबरसँगको कुराकानीका क्रममा रेशमले आफूलाई कुनै जानकारी नदिई केन्द्रीय समिति बैठक आह्वान गरिएको आरोप लगाए। उनले भने, “मलाई औपचारिक जानकारी केही छैन, मैले पनि सामाजिक सञ्जाल र मिडियाबाट मात्र थाहा पाएको हुँ। हामीलाई जानकारी नै नगराई कसरी बैठक बोलाइन्छ? त्यसपछि अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मसँगको सबै प्रकारका सम्बन्ध समाप्त गर्न खोजिएको देखिन्छ। उहाँले सबै सम्बन्ध समाप्त पार्नुभयो।”
रन्जिताले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पालिका प्रमुख तथा उपप्रमुखलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोग अद्यावधिकलगायत एजेन्डा रहने बताइएको छ।
तर, रेशमले आफूलाई बाइपास गरेर एकलौटी ढंगले बैठक बोलाइएको दाबी गरे। उनले भने, “मैले जेलभित्रैबाट दुःख गरेर पार्टी स्थापना गरेको हुँ। अहिले आएर मलाई बाहिर राखेर एकलौटी गर्ने प्रयास भयो। तर माग–मुद्दाका विषयमा मेरो आवाज कहिल्यै दबिँदैन, सधैँ बुलन्द गर्नेछु।”
समानान्तर दल दर्ता गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले अर्को पार्टी खोल्ने सम्भावना नदेखेको स्पष्ट पारे। “म अर्को पार्टी खोल्ने कुरै हुँदैन। म सांसद पनि छैन, कुनै प्रतिनिधि पनि होइन। तर, नागरिक उन्मुक्ति पार्टीकै नामले मलाई जनताले चिन्छन्। मैले उठाएको मुद्दालाई निरन्तरता दिन्छु,” उनले स्पष्ट पारे।
रेशम पक्षका सांसद तथा जनप्रतिनिधिले भने रन्जिताले बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्।
यसअघि साउन १६ गते रेशम पक्षले राष्ट्रिय भेला गर्दै रन्जितालाई अध्यक्षबाट हटाई लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। तर, निर्वाचन आयोगले सो निर्णयलाई मान्यता नदिएपछि रन्जिता नै आधिकारिक अध्यक्षका रूपमा यथावत् छिन्। त्यसयता पहिलोपटक रन्जिताले आह्वान गरेको केन्द्रीय समिति बैठक बस्न लागेको हो।
