नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ को च्याम्पियन, (यूएई) लाई ४४ रनले पराजित

समाचार सारांश
Auto Generated by AI
  • यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बनेको छ।
  • आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकको मद्दतमा नेपालले ३१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
  • नेपालका बलरहरूले कसिलो बलिङ गर्दै यूएईलाई २६९ रनमै अलआउट गरी ऐतिहासिक जित निकालेका हुन्।

काठमाडौं।संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ को च्याम्पियन बनेको छ।

Workplace

मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा सम्पन्न फाइनल खेलमा नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २ सय ६९ रन बनाउँदा अलआउट भयो।

यूएईका लागि राहुल चोपडाले शतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

लक्ष्य पछ्याउने क्रममा यूएईका लागि राहुल चोपडाले १०५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित १०० रन बनाए। त्यस्तै शोएब खानले ५२, तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ तथा खुजैमा तनवीरले १५ रनको योगदान दिए।

नेपालका बलरहरूले कसिलो बलिङ गर्दै नियमित अन्तरालमा विकेट लिए। करण केसीले ९ ओभरमा ४९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशीले १० ओभरमा ४३ रन दिएर २ विकेट हात पारे।

त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, गुलशन झा र बसिर अहमदले समान १-१ विकेट लिए। ४९.१ ओभरमा बसिर अहमदको बलमा हैदर अली शून्य रनमा आसिफ शेखद्वारा स्टम्पिङ आउट भएसँगै नेपालको जित सुनिश्चित भएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको विशाल योगफल खडा गरेको थियो।

नेपालको जितको आधार ओपनर आसिफ शेखको उत्कृष्ट शतकीय इनिङ्स बन्यो। उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए।

अर्का ओपनर अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै आसिफले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। अर्जुनले ६३ बलमा ६ चौकासहित ४३ रन जोडे।

मध्यक्रममा गुलशन झाले आक्रामक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रनको महत्त्वपूर्ण अर्धशतक बनाए।

रोहित पौडेलले ४४ बलमा ४० रनको इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ र सन्दीप जोराले ७ रन बनाए। अन्तिम ओभरतिर बसिर अहमदले विस्फोटक रूपमा ४ बलमै २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बटुलेपछि नेपालले ३ सय रनको आँकडा पार गरेको थियो।

बलिङतर्फ यूएईका इबरार अहमदले ८ ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले १-१ विकेट हात पारे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?