लुम्बिनी — कवि हिरा भट्टले मातृभाव, पीडा र मानवीय संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गर्दै ‘रोएर लेख्दैछु म’ शीर्षकको कविता लेखेका छन्। आफ्ना भोगाइ र जीवनका असह्य क्षणहरूलाई कवितामार्फत उघार्दै उनले आमाको स्नेह, मुटुको घाउ र अव्यक्त वेदनालाई शब्दमा पारेका छन्।

‘छन्द–शार्दूलविक्रीडित’ मा लेखिएको यो रचनाले आत्मदुःख, ममतामयी नाता र संघर्षका पललाई कलात्मक ढङ्गमा चित्रण गर्छ। कविले जीवनका कठिनाइ, अभाव र पीडाबीच पनि लेख्न र हाँस्न सक्ने मानवीय शक्ति देखाएका छन्।
रोएर लेख्दैछु म — कवि हिरा भट्टको भावनात्मक रचना
आँखेताल चुही रहन्छ जहिल्यै पाखा-परेलीतिर
जोख्दा तौल उही रहन्छ कहिल्यै घट्दैन चिन्ता पिर
चर्केका मुटु-घाउमा कलमले छोएर लेख्दैछु म
हाँसेस् है जननी सधैँ गह पुछी रोएर लेख्दैछु म
।१।
चन्द्रे रश्मि लुकाउँदैछ मुखको सुम्पेर औँसी जति
सुर्जे दुष्ट सुकाउँदैन तकिया रोएर धोएँ कति
फुल्दा आँगनमा प्रसून बगिया नैराश्य देख्दैछु म
हाँसेस् है जननी सधैँ गह पुछी रोएर लेख्दैछु म
।२।
मैले दर्द अभावका फलहरू ताछेर खाएँ कति
मैले दु:ख दबाब काफलहरू हाँस्दै चपाएँ कति
हाँसो छेक्न मुहारमा ह्र्दयमा छन् चोट सेक्दैछु छु
हाँसेस् है जननी सधैँ गह पुछी रोएर लेख्दैछु म
।३।
रोगी होइन रोग छैन तनमा भन्छन् मनैका वन
धोबी लोचनको बनेँ कि जलले धोएँ सधैँ लोचन
पोया जीवनका नबाँध सुतरी फोएर लेख्दैछु
हाँसेस् है जननी सधैँ गह पुछी रोएर लेख्दैछु म
।४।
फुल्थे फुल्नुछ फुल्दछन् फुलिरहून् फुल्नै भुलेका मन
रुन्चे नेत्र गरिस् रुँदै गह भरिस् रोक् शारदा रोदन
मैला छन् कपडा सयौँ समयका धोएर लेख्दैछु म
हाँसेस् है जननी सधैँ गह पुछी रोएर लेख्दैछु म
।५।
छन्द:शार्दूलविक्रीडित
रचनाकार: हिरा भट्ट ” बदमास नम्बर दुई”
