
नयाँ दिल्ली – नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै नेपाली भाषा, कला, र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘ लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, नयाँ दिल्ली’ द्वारा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदैछ। यही मार्च ९ तारिखको दिन नगर भवन (मुलचन्द्र मेट्रो स्टेसन नजिकै), नयाँ दिल्लीमा आयोजना हुने उक्त कार्यक्रममा चर्चित नेपाली गायक वसन्त लम्साल, चर्चित गायिका गुल्मेली जमुना, आश्मा बन्जाडे, मोडल प्रकाश शर्मा, नृत्यांगना कुसुम राना, बाल कलाकार सृष्टि अधिकारी लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
सांस्कृतिक कार्यक्रमका साथै नेपाली भाषा, कला, र परम्परालाई जोगाउँदै प्रवासमा नेपाली पहिचानलाई बलियो बनाउने उद्देश्यले लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारले विभिन्न मौलिक झल्किने कार्यक्रम आयोजना गर्दै आएको छ। यस संस्थाले विगतमा पनि विभिन्न सामाजिक कार्यहरू गर्दै पीडित, असहाय तथा आर्थिक रूपमा कमजोर नेपालीहरूलाई सहयोग पुर्याउँदै आएको छ। विशेष गरि सामाजिक रूपमा पछाडि परेका वर्गहरूलाई सहायता पुर्याउने संस्थाको मुख्य उद्देश्य रहेको छ। यस संस्थाले चिकित्सा खर्च, आपतकालीन राहत, तथा अन्य सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ। नेपाल र भारतबीचको रोटी-बेटी सम्बन्धलाई अझ मजबुत बनाउन प्रवासी नेपालीहरूले यस्ता कार्यक्रमहरू मार्फत आफ्नो पहिचानलाई बलियो बनाउँदै आएका छन्। प्रवासमा रहेर पनि नेपाली कला, संगीत, संस्कृति तथा परम्परालाई जोगाउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता, तथा सामाजिक सेवाको भावना विकास गर्ने अपेक्षा गरिएको छ।
संस्थाले प्रवासमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली संस्कृति प्रेमीहरूलाई यस कार्यक्रममा उपस्थित भई नेपाली पहिचानलाई बलियो बनाउने अभियानमा सहभागी हुन अनुरोध गरेको छ। “हाम्रो कला, संस्कृति, परम्परा जोगाउनु हाम्रो कर्तव्य हो। प्रवासमा रहेर पनि आफ्नो पहिचान जोगाउँदै, आपसी एकता र भाइचारालाई प्रवर्द्धन गर्नु नै हाम्रो संस्थाको मुख्य उद्देश्य हो,” संस्थाका पदाधिकारीहरू बताउँछन्। नेपाली समुदायबीच सद्भाव र सहयोगको भावना विकास गर्न निरन्तर लागि परिरहेको ‘ लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार’को यो प्रयास सधैं सराहनीय रहँदै आएको छ।

