
- नयाँ सरकारले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय बैठक बस्दैछ।
- विकास निर्माण, स्रोत बाँडफाँड र प्रदेशका प्रशासनिक–आर्थिक समस्यामा केन्द्रित छलफल हुनेछ।
- संघीयताको प्रभावकारी कार्यान्वयन र जनतालाई प्रत्यक्ष लाभ पुर्याउन समन्वय सुदृढ गर्ने लक्ष्य छ।
काठमाडौं । वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय बैठक बस्दै छन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ ।
त्यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र–प्रदेश समन्वयलाई थप सुदृढ बनाउने उपायबारे पनि विचारविमर्श हुने जनाइएको छ ।
बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन प्रवर्द्धनका विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत हुने अपेक्षा गरिएको छ ।
यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
