
- रास्वपा संसदीय दलको बैठक आज दिउँसो सिंहदरबारमा बस्दैछ।
- बैठकको मुख्य कार्यसूची संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवार चयन गर्नु हो।
- प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिको निर्वाचन हुन बाँकी छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा आह्वान गरिएको छ ।

बैठकको मुख्य कार्यसूची संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवार चयन गर्नु रहेको छ । संघीय संसद् अन्तर्गत हाल १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र दुई वटा संयुक्त समिति समावेश छन् ।
राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिहरूको सभापति चयन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभाअन्तर्गतका १० र संयुक्त दुई समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी छ ।
यसअघि गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरूको टुंगो लगाएको थियो । सोही दिन डोलप्रसाद अर्याल ले आगामी शुक्रबारका लागि सभापति निर्वाचनको मिति निर्धारण गर्नुभएको थियो ।
नियमअनुसार सम्बन्धित समितिको सभापतिमा दाबी गर्न सोही समितिका एक सदस्य प्रस्तावक र अर्को सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था रहेको छ ।
