
- नेपालमा आज हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइँदै छ भने सुनको मूल्यमा गिरावट आएको छ।
- गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला परेको छ र लमजुङबाट अवैध भरुवा बन्दुक बनाउने दुई जना पक्राउ परेका छन्।
- शेयर बजारमा वृद्धि भएको छ, यता रास्वपाले बाढी पीडितका लागि थप राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार

१.नेपाली हिन्दु नारीको महान् पर्व हरितालिका तीज आज सोमबार देशभर हर्षोल्लासका साथ मनाइँदै छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेषगरी विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार र निर्जला व्रत बस्ने परम्परा छ।तीजको मुख्य दिन व्रत बस्नका लागि नारीले आइतबार शक्ति सञ्चयका लागि मीठा तथा आडिला परिकार ‘दर’ का रूपमा खाएका छन्। दर खाएसँगै चार दिनसम्म चल्ने तीज पर्वको औपचारिक सुरुवात भइसकेको छ।पशुपतिनाथलगायतका शिवालयमा विशेष व्यवस्था तीजका अवसरमा काठमाडौंको ऐतिहासिक पशुपतिनाथ मन्दिरलगायत देशभरका प्रमुख शिवालयमा बिहानैदेखि व्रतालुको भिड लाग्ने गर्दछ।पशुपति क्षेत्र विकास कोषका अनुसार व्रतालुलाई सहजरूपमा दर्शन गराउन सुरक्षा, स्वास्थ्य शिविर, खानेपानी र लाइनको उचित व्यवस्थापन मिलाइएको छ। भक्तजनको भिडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ। सांस्कृतिक महत्त्व र मौलिकताको खोजी सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेको र सोही दिन शिवजी प्रकट भई मनोकांक्षा पूरा गरिदिएको धार्मिक विश्वासका आधारमा तीज मनाउने चलन छ।
२. गुल्मीको मुसीकोट नगरपालिका–५ इन्द्रगौंडाकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २०८३ भदौ २८ गते साँझ करिब ७ बजे २८/२९ वर्षीया कल्पना पुन माइतीघर इस्मा गाउँपालिका–४ हुला जाने क्रममा सोही स्थानस्थित निस्ती खोला तर्ने क्रममा खोलाले बगाएको स्थानीयले जानकारी गराएका थिए।जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा ४ जना र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजय नाथ यादवको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिई खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।
३. तीजका दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो।यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार ६ सय ६० रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँले घटेर चार हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
४. युक्रेनले रूसका तेल प्रशोधन केन्द्र तथा ऊर्जा पूर्वाधारमा गर्दै आएको ड्रोन आक्रमणका कारण इन्धनको अभाव बढेको भन्दै ट्रम्पले यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ‘जेलेन्स्कीले एउटा काम गर्नुपर्छ-रूसमा डिजेल इन्धन उत्पादनलाई निशाना बनाउन बन्द गर्नुपर्छ,’ ट्रम्पले पत्रकारहरूसँग भने।यसबारेमा आफूले जेलेन्स्कीसँग पनि कुरा गरेको उनले बताए। ‘जेलेन्स्कीसँग पनि यो बारेमा कुरा गरेको छु। रूमा अन्य धेरै ठाउँ छन्। डिजेललाई निशाना नबनाऊ। यसले विश्वलाई असर गरिरहेको छ भनेको छु,’ उनले भने।रूस र युक्रेनबीच लामो समयदेखि जारी युद्धमा पछिल्ला महिनाहरूमा दुवै पक्षले एकअर्काका ऊर्जा तथा इन्धन पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्। युक्रेनले पछिल्ला महिनाहरूमा लामो दूरीका ड्रोनमार्फत रूसका तेल प्रशोधन केन्द्रमा लगातार आक्रमण गर्दै आएको छ।ती आक्रमणका कारण रूसको इन्धन उत्पादन घट्दा देशका विभिन्न क्षेत्रमा पेट्रोल अभावसमेत देखिएको रोयटर्सले जनाएको छ। युक्रेनले भने रूसका तेल प्रशोधन केन्द्रहरू सैन्य प्रयोजनमा प्रयोग हुने भएकाले ती वैध सैन्य लक्ष्य भएको बताउँदै आएको छ।उता, रूसले पनि युक्रेनका ऊर्जा पूर्वाधारलाई नियमित रूपमा निशाना बनाउँदै आएको छ। ट्रम्पले अहिले देखिएको विश्वव्यापी इन्धन अभावको कारण मध्यपूर्वको घटनाक्रम मात्रै नभएको बताए।‘यो मध्यपूर्वको तनावका मात्रै होइन, रूस र युक्रेनमा भइरहेको घटनाक्रमले भएको हो,’ उनले भने। अमेरिकामा पनि डिजेलको मूल्य बढिरहेको छ। मूल्य ट्र्याकर ग्यासबडीका अनुसार बिहीबार अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको थियो।
५. गुल्मीमा निस्सी खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ।मुसीकोट नगरपालिका–५ इन्द्रेगौडाकी अन्दाजी २९ वर्षीया कल्पना पुनको शव सोमबार दिउँसो घटनास्थलदेखि करिब १ किलोमिटर तल ठुलापहिरा भन्ने स्थानमा खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो।प्रहरी टोली र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा दिउँसो पुनको शव फेला परेको थियो।शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास, गुल्मी पठाइएको प्रहरीले जनाएको छ।पुन आइतबार साँझ आफ्नो घर मुसीकोट–५ इन्द्रेगौडाबाट माइती इस्मा गाउँपालिका–४ हुल जाने क्रममा निस्सी खोला तर्दा खोलाले बगाएर बेपत्ता भएकी थिइन्।
६. घरभित्रै अवैध रूपमा भरुवा बन्दुक बनाइरहेको अवस्थामा प्रहरीले लमजुङको राईनासबाट ठूलो परिमाणमा हतियारका पार्टपुर्जासहित दुई जनालाई पक्राउ गरेको छ।राईनास नगरपालिका-९ साउनेपानीमा सञ्चालित सो हतियार निर्माण स्थलबाट बरामद सामग्रीसहित पक्राउ परेका दुवै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।पक्राउ पर्नेहरूमा साउनेपानीका ५७ वर्षीय प्रेम बिनोद कामी विश्वकर्मा र सोही ठाउँका ४३ वर्षीय दिलबहादुर वि.क. रहेका छन्। विश्वकर्माको घरमा अवैध हतियार उत्पादन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शनिबार साँझ इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी तार्कुघाटका प्रहरी हवल्दार रामबाबु बस्नेतको कमाण्डमा खटिएको २ जनाको संयुक्त टोलीले उक्त घरमा खानतलासी गरेको थियो।खानतलासीका क्रममा घरभित्रबाट भरुवा बन्दुक बनाउन र मर्मत गर्न राखिएका उल्लेख्य मात्राका सामग्रीहरू बरामद भएका छन्।प्रहरीले २ फिट ८ इन्च लम्बाइ भएका बन्दुकको ‘बट’ आकारका काठ ५ थान, टिगर गार्ड र बट मात्र भएको (ब्यारेल नभएको) पुरानो भरुवा बन्दुक ४ थान, तथा टिगर गार्ड र ब्यारेल जडान नगरिएको पुरानो बन्दुकको बट ४ थान फेला पारेको छ।
७. राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ ।झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड भेला भएको थियो युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईंलाई रोकेको थियो । त्यस क्रममा प्रसाईं समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो ।प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घरतर्फ लगेको छ ।
८. आज तिजको दिन शेयर बजारमा भने हरियाली छाएको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५५ अंकले बढेको छ । आज नेप्से ०.९९ प्रतिशतले बढेर परिसूचक २५८५ विन्दुमा पुगेको छ ।आज नेप्से बढ्दा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९५ हजार ६५४ कित्ता शेयर कारोबार भएको छ ।बजार बन्द हुँदा २२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।बजार बन्द हुँदा ३३६ वटा कम्पनीको शेयर ४९ हजार ७४ पटक कारोबार भएको छ।
९. प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले पुनःस्थापनाका लागि सरकारले आन्तरिक स्रोतका साथै दातृ निकायहरूले उपलब्ध गराएको सहायता रकमसमेत अधिकतम प्रयोग गर्ने तयारी गरिरहेको बताए।छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको संवादले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्कालै राम्रो समन्वय भएको खबर जनप्रतिनिधिहरूबाटै सुन्न पाउँदा खुसी लागेको उनले बताए। “यसअघि तीनवटै तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ र मिलेर काम गर्यौँ,” उनले भने।प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे। सडक सञ्जाल पुनः सञ्चालनमा आएसँगै प्रभावित नागरिकहरूलाई पूर्ववत् अवस्थातर्फ फर्कन सहज हुने उनको भनाइ थियो।
१०. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आफ्ना सांसदहरूमार्फत थप रकम योगदान गर्ने भएको छ।संसदीय दलका पदाधिकारीहरूबीच भएको छलफलअनुसार दलका प्रत्येक सांसदहरूबाट कम्तीमा १५ हजार रूपैयाँका दरले थप रकम सहयोग गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।सांसदहरूबाट सङ्कलन हुने न्यूनतम १५ हजार रूपैयाँ र थप स्वघोषित व्यक्तिगत रकमसमेत गरी कुल २७ लाख १५ हजार रूपैयाँभन्दा बढी रकम राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ।यसअघि नै रास्वपाको तर्फबाट राहत कोषमा ५० लाख रूपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ। उक्त ५० लाखको योगदानमा संसदीय दलका सदस्यहरूले पार्टीमा बुझाउने मासिक लेवीसमेत समावेश गरिएको थियो। सो रकमका अतिरिक्त अहिले सांसदहरूबाट व्यक्तिगत रूपमा थप रकम सङ्कलन गरी कोषमा पठाइन लागिएको मुख्य सचेतक बुर्लाकोटीले जनाएका छन्।
