
- अर्घाखाँचीको मालारानीमा इलाका प्रहरी कार्यालय खनको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
- स्थानीय बासिन्दाले प्रहरीको कार्यको प्रशंसा गर्दै शान्ति सुरक्षा कायम राख्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
- ट्राफिक व्यवस्थापन र २४ सै घण्टा प्रहरी उपस्थितिलगायतका समस्या समाधान गर्न स्थानीयले आग्रह गरेका छन्।
अर्घाखाँची धर्विन खडका – जिल्लाको मालारानी गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय खनको आयोजनामा आज मिति २०८२ साल २१ गते वडा नं. ३ स्थित वडा कार्यालयको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम इलाका प्रहरी कार्यालय खनका प्रमुख प्रहरी निरीक्षक फल बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने मालारानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष डन्डपाणी पोखरेल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, खनदह बजार व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले मालारानी गाउँपालिकामा प्रहरीले शान्ति–सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
उनीहरूले प्रहरीसँग सहकार्य गर्दै समुदायमा शान्ति र सुव्यवस्था कायम राख्न आफूहरू सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

सुनुवाई कार्यक्रममा विशेष गरी खनदह बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गर्ने, २४ सै घण्टा प्रहरीको उपस्थिति सुनिश्चित गर्ने तथा छाडा कुकुर व्यवस्थापन जस्ता विषयहरूमा खुला छलफल गरिएको थियो।
सहभागीहरूले यी विषयहरूमा आवश्यक पहल गर्न प्रहरी तथा स्थानीय तहसँग आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले नागरिकका सुझाव र गुनासाहरूलाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउँदै शान्ति सुरक्षा कायम राख्ने दिशामा निरन्तर काम गर्ने बताउनुभयो।
यस्तै, प्रमुख अतिथि पोखरेलले स्थानीय तह र प्रहरीबीचको सहकार्यले मात्र दिगो शान्ति र विकास सम्भव हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनताका आवाज सम्बन्धित निकायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय समस्या पहिचान तथा समाधानका लागि साझा प्लेटफर्म प्रदान गरेको सहभागीहरूले बताएका छन्।
