
- लमजुङको राईनासबाट अवैध भरुवा बन्दुक बनाइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूको साथबाट बन्दुकका विभिन्न पार्टपुर्जा तथा निर्माण सामग्री बरामद गरेको छ।
- पक्राउ परेका दुवै जनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
काठमाडौं।घरभित्रै अवैध रूपमा भरुवा बन्दुक बनाइरहेको अवस्थामा प्रहरीले लमजुङको राईनासबाट ठूलो परिमाणमा हतियारका पार्टपुर्जासहित दुई जनालाई पक्राउ गरेको छ।

राईनास नगरपालिका-९ साउनेपानीमा सञ्चालित सो हतियार निर्माण स्थलबाट बरामद सामग्रीसहित पक्राउ परेका दुवै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेहरूमा साउनेपानीका ५७ वर्षीय प्रेम बिनोद कामी विश्वकर्मा र सोही ठाउँका ४३ वर्षीय दिलबहादुर वि.क. रहेका छन्। विश्वकर्माको घरमा अवैध हतियार उत्पादन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शनिबार साँझ इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी तार्कुघाटका प्रहरी हवल्दार रामबाबु बस्नेतको कमाण्डमा खटिएको २ जनाको संयुक्त टोलीले उक्त घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्रबाट भरुवा बन्दुक बनाउन र मर्मत गर्न राखिएका उल्लेख्य मात्राका सामग्रीहरू बरामद भएका छन्।
प्रहरीले २ फिट ८ इन्च लम्बाइ भएका बन्दुकको ‘बट’ आकारका काठ ५ थान, टिगर गार्ड र बट मात्र भएको (ब्यारेल नभएको) पुरानो भरुवा बन्दुक ४ थान, तथा टिगर गार्ड र ब्यारेल जडान नगरिएको पुरानो बन्दुकको बट ४ थान फेला पारेको छ।
