
समाचार सारांश
Auto Generated by AI
- मुगुको छायाँनाथ रारा नगरपालिकास्थित मुर्माटपमा लामो समयदेखिको प्रयासपछि नेपाल टेलिकमको ४जी सेवा सुचारु भएको छ।
- युवा अभियन्ता र स्थानीयको निरन्तर पहल तथा श्रमदानले टावर निर्माण कार्य सम्पन्न भई स्थानीय बासिन्दा हर्षित भएका छन्।
- विद्युतको समस्याले गर्दा टावरको पावर ब्याकअप कमजोर रहेकाले दिगो सेवाका लागि टेलिकमलाई तत्काल बलियो ब्याट्री जडान गर्न माग गरिएको छ।
- रतन रावल मुगु, असार ।
कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा सञ्चार क्षेत्रमा एक ठूलो सफलता हात लागेको छ। छायाँनाथ रारा नगरपालिका वडा नं. ९ स्थित पर्यटकीय तथा रणनीतिक महत्त्व बोकेको क्षेत्र मुर्माटपमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपाल टेलिकमको मोबाइल टावर निर्माण कार्य अन्ततः सम्पन्न भएको छ। निर्माण कार्य सकिएसँगै आज असार १५ गतेदेखि उक्त क्षेत्रमा विधिवत् रूपमा नेपाल टेलिकमको 4Gसेवा सुचारु भएको छ।
वर्षौंदेखि सञ्चार सुविधाबाट बञ्चित मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँका नागरिक रारा क्षेत्र आसपासका बासिन्दाहरू टावर सञ्चालनमा आएसँगै निकै हर्षित भएका छन्। यस सेवाको विस्तारले मुगु जिल्लाका नेटवर्क नपुगेका र सञ्चार सम्पर्कविहीन रहेका धेरै दुर्गम स्थानका हजारौँ सेवाग्राहीहरू सिधै लाभान्वित भएका छन्। नेपाल टेलिकमले आफ्नो पहुँच विस्तार गर्ने क्रममा यो दुर्गम क्षेत्रमा सेवा पुर्याएपछि स्थानीय स्तरमा यसको उच्च प्रशंसा भइरहेको छ।

युवा अभियान र स्थानीयको अथक प्रयास पछि यो टावर स्थापनाको कथा निकै लामो र चुनौतीपूर्ण रहेको छ। धेरै वर्ष अगाडि प्रक्रिया सुरु भए तापनि विभिन्न प्राविधिक, भौगोलिक र व्यवस्थापकीय कमजोरीका कारण यो आयोजना अलपत्र परेको थियो। राज्यको लगानी बालुवामा पानी जस्तै भइरहेका बेला युवा नेतृत्व र सामाजिक अभियन्ताहरूको निरन्तरको दबाब र प्रयासले यसलाई पूर्णता दिएको हो।
विशेष गरी जेन्जी (Gen-Z) समूहका युवा सामाजिक अभियन्ता तथा समाजसेवी अनिल बानियाँ लगायतका थुप्रै सरोकारवाला युवाहरूको समूहले यस टावरलाई पुनर्जीवन दिन कम्मर कसेर लागेका थिए। उनीहरूले सञ्चार निकाय, स्थानीय सरकार र सरोकारवाला संयन्त्रसँग निरन्तर समन्वय, पहल कदमी र दबाब बढाएपछि मात्र यो सेवा सुचारु हुन सम्भव भएको हो। यसैले पनि स्थानीय उपभोक्ताहरूले सामाजिक अभियन्ता अनिल बानियाँ र उनको टोलीप्रति विशेष आभार तथा सम्मान प्रकट गरेका छन्।

यसका साथै, भौगोलिक रूपमा अत्यन्तै विकट र कठिन मानिने मुर्माटपमा टावरका गह्रौँ सामानहरू ओसार्न, श्रमदान गर्न र प्राविधिकहरूलाई बस्ने-खाने व्यवस्था मिलाउन स्थानीय मुर्मावासीहरूले खेलेको भूमिका अतुलनीय छ। टावर निर्माण कार्यलाई सहज र द्रुत गतिमा अघि बढाउनका लागि स्थानीय आदरणीय व्यक्तित्व एवं दाजु रन रोकायाले समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो। निर्माण कार्यलाई टुङ्गोमा पुर्याउन अहोरात्र खटिने मुर्माका स्थानीय नागरिक र सहजकर्ता रन रोकायाप्रति सिंगो जिल्ला बासीले उच्च सम्मान व्यक्त गरेका छन्।
४ जी चल्यो तर ‘पावर ब्याकअप’ को ठूलो चुनौती
असार १५ गतेदेखि ४जी सेवा सुचारु भएर मोबाइलमा द्रुत गतिको इन्टरनेट चल्न थाले पनि अहिले यो टावरमा एउटा गम्भीर प्राविधिक समस्या देखा परेको छ। भौगोलिक विकटताका कारण मुर्माटपमा विद्युतको केन्द्रीय प्रसारण लाइन भरपर्दो छैन, जसका कारण टावर पूर्ण रूपमा पावर (विद्युत आपूर्ति) को समस्याबाट गुज्रिरहेको छ।
हाल टावरमा ब्याट्री ब्याकअपको क्षमता अत्यन्तै कमजोर वा न्यून भएकाले विद्युत जाने बित्तिकै वा मौसम खराब हुने बित्तिकै नेटवर्क गायब हुने समस्या देखिएको छ। टावर त बन्यो तर पावर अभावका कारण सेवा निरन्तर नहुँदा ग्राहकहरूमा फेरि निराशा छाउने खतरा बढेको छ।
तत्काल ब्याट्री व्यवस्थापन गर्न नेपाल टेलिकमलाई आग्रह
स्थानीय बासिन्दा, युवा अभियन्ता र सञ्चार क्षेत्रका जानकारहरूका अनुसार यो टावरको दिगोपनका लागि अबको एकमात्र उपाय भनेको तत्कालै उच्च क्षमताको ब्याट्री प्रणाली (Power Backup System) जडान गर्नु हो।
नेपाल टेलिकमले मुगु जिल्लाका कुनाकाप्चासम्म गुणस्तरीय नेटवर्क पुर्याउने आफ्नो उद्देश्यलाई सार्थक बनाउनका लागि छिटोभन्दा छिटो मुर्माटप टावरमा नयाँ र बलियो ब्याट्री
ब्यवस्थापन गरिदिनु पर्ने माग जोडदार रूपमा उठेको छ। यदि टेलिकमले यो समस्यालाई प्राथमिकतामा राखेर तुरुन्तै समाधान गरेमा, मुगु जिल्लाभरिका धेरै भन्दा धेरै टेलिकमका ग्राहकहरू माझ चौबीसै घण्टा भरपर्दो नेटवर्क र उच्च गतिको इन्टरनेट सुविधा पुग्ने निश्चित छ। यसले मुगुको सञ्चार क्षेत्रमा मात्र नभई रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत ठूलो कोसेढुङ्गो साबित गर्ने अपेक्षा गरिएको छ।
