काठमाडौं,- नेपाली कांग्रेसले संविधान दिवसलाई देशैभर धुमधामसँग मनाउने भएको छ। बुधबार सानेपास्थित पार्टी कार्यालय निरीक्षणमा आएका उपसभापति पूर्णबहादुर खड्काले असोज ३ गते ७७ वटै जिल्लामा संविधान दिवस मनाउने जानकारी दिए।

उनका अनुसार देशभित्र मात्र होइन, विदेशमा रहेका पार्टी कमिटी, भातृ संस्था र शुभेच्छुक संगठनलाई समेत संविधान दिवस एकैपटक, एकै स्वरमा मनाउन निर्देशन दिइसकिएको छ।
“हामीले ७७ वटै जिल्लामा संविधान हातमा लिएर, शान्तिपूर्ण तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छौं,” खड्काले भने।
पार्टीको कार्यसम्पादन समितिको बैठकले संविधान दिवसलाई विशेष महत्वका साथ मनाउने निर्णय गरिसकेको उनले बताए। “संविधान रक्षाको केन्द्रीय जिम्मेवारीलाई शिरमा राख्दै संयमित र दृढतापूर्वक दिवस मनाउने हो,” खड्काको भनाइ छ।
यसबीच, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै संसद् विघटनविरुद्ध वक्तव्यबाजी गर्दै आएका दलहरू पनि विस्तारै सम्हालिँदै चुनावी तयारीतिर लागेका देखिन्छन्।
