अन्कित थापा गुल्मी, साउन २० – गुल्मीको सत्यवती गाउँपालिका–६ मा पर्ने डहरे खोलाले बरिष्ठ पत्रकार घनश्याम गौतमको गाडी बगाएको छ । गुल्मीको चन्द्रकोटबाट बुटवलतर्फ जाँदै गरेका गौतमसहित चार जना सवार कार रुद्रवेणी–वामीटक्सार सडकखण्डको डहरे खोला पार गर्ने क्रममा बगाएको हो ।

सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाको वहाव बढेको समयमा गाडी खोला पार गर्दै गर्दा एक्कासी पानीको मात्रा तीव्र रुपमा बढेपछि गाडी खोलाले बगाएको हो ।
“गाडी बगाउन थालेपछि सबै जना समयमै उत्रनुभयो, त्यसैले मानवीय क्षति भएको छैन,” अध्यक्ष पाण्डेले जानकारी दिनुभयो, “गाडी बग्दै बडिघाट खोलासम्म पुगेको रहेछ, हामीले थाहा पाएपछि तत्काल गाडी झिक्यौं ।”
कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत पत्रकार गौतमका अनुसार अहिले गाडी खोलाबाट निकालिएको छ र मर्मतका लागि बुटवलतर्फ लैजाने तयारी भइरहेको छ ।
“सौभाग्यवश सबै जना सकुशल छौं, गाडीको केही भागमा क्षति भएको छ,” पत्रकार गौतमले बताउनुभयो ।
डहरे खोलामा पुल नहुँदा हरेक वर्ष वर्षायाममा जोखिम मोल्दै यात्रुहरू आवतजावत गर्दै आएका छन् । खोलामा पानीको वहाव बढेपछि नियमित रूपमा यस्ता घटना हुने गरेको भए पनि स्थायी समाधानका लागि अझैसम्म कुनै ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।
देशभर अहिले भारी वर्षा भइरहेको सन्दर्भमा प्रहरी र स्थानीय प्रशासनले सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणमा आग्रह गरेका छन् । खोला, नाला तथा पहिरोको जोखिम भएका क्षेत्रमा अझ बढी सतर्कता अपनाउन नेपाल खोजखबर ड्ट कम समेत सबैमा हार्दिक अनुरोध गर्दा छ ।
