
- झलनाथ खनालले कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
- देशको सङ्कट समाधान गर्न अब युवा पुस्तालाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ छ।
- पुराना नेताहरूले उपदेश दिने नभई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै मार्गनिर्देशन गर्नुपर्छ।
काठमाडौ – नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको नेपाल खोज खबर लाई बताएका छन्।

पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताएका हुन्।
उनले देश संकटमा रहेकोले संकटबाट मुक्ति दिलाउन युवालाई अगाडि सार्नुपर्ने बताएका छन।
उनले देशका सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको बताए। नेपाली कांग्रेस दुई चिरामा विभाजित रहेको उल्लेख गर्दै उनले कांग्रेस अहिले एकताबद्ध भएर प्रभावकारी ढङ्गले अघि बढ्नसक्ने अवस्थामा नरहेको टिप्पणी गरे।
नेकपा एमालेभित्र पनि पुनर्गठनको माग बलियो बन्दै गएको उनको भनाइ थियो ।
उनले एमालेभित्र बहुसंख्यक नेता तथा कार्यकर्ता पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए। उनले यही आवश्यकता नेपाली कम्युनिष्ट पार्टीमा समेत रहेको बताए।
नेकपालाई पुनर्गठन र रूपान्तरण नगरिकन अगाडि बढ्न नसकिने उनको भनाइ छ।
उनले पुराना नेताहरूले नयाँ पुस्तालाई निरन्तर अर्ती–उपदेश दिनेभन्दा उनीहरूलाई नेतृत्वमा अघि बढ्न अवसर दिनुपर्नेमा जोड दिए।
पुराना नेताहरूले सल्लाह, प्रशिक्षण र मार्गदर्शन दिने तथा नयाँ पुस्ताले नेतृत्व सम्हाल्दै अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने नेपाल खोज खबर लाई बतायका छन।
