दुबई (यूएई)— युनाइटेड अरब इमिरेट्सको व्यावसायिक केन्द्र दुबईस्थित प्रसिद्ध क्रिक पार्क मा आइतबार ‘नेपाल फेस्टिभल डे २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। ५० हजारभन्दा बढी दर्शकको उल्लेखनीय सहभागितासहित सम्पन्न यो कार्यक्रमलाई खाडी क्षेत्रमा नेपाली समुदायद्वारा आयोजित अहिलेसम्मकै ठूलो सांस्कृतिक महोत्सवको रूपमा हेरिएको छ।

कार्यक्रममा करिब ४० हजार नेपाली र १० हजारभन्दा बढी विदेशी नागरिक उपस्थित रहेको आयोजक समितिले जनाएको छ अबुधाबीस्थित नेपाली दूतावासको संरक्षणमा गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाज यूएई, सम्पर्क समितिहरू, जनजाति संघसंस्थाहरू लगायत विभिन्न संस्थाको सहकार्यमा यो उत्सव सम्पन्न भएको हो।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको यस महोत्सवलाई “नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव” को रूपमा लिइएको थियो। मन्त्री पौडेलले कार्यक्रममा सम्बोधन गर्दै नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने सम्भावनाहरूको चर्चा गरे र पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि तथा लगानी क्षेत्रमा सहकार्यको प्रस्ताव अघि सारे। साथै, विदेशमा रहेका नेपालीहरूले टेलीमेडिसिनमार्फत स्वास्थ्य सेवा लिन सक्ने जानकारीसमेत दिएका थिए ।नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यस्तो सांस्कृतिक महोत्सवले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे

कार्यक्रममा नेपालको सांस्कृतिक झाँकी, लोकनृत्य, मौलिक भेषभूषा, नेपाली परिकार तथा ‘सुरसुधा’ लगायतका लोकप्रिय कलाकारहरूको प्रस्तुतिले वातावरण झनै रंगीन बनाएको थियो। साथै, ५० भन्दा बढी स्टलहरू राखिएका थिए जसमा नेपाली हस्तकला, पर्यटन जानकारी, रेमिट्यान्स तथा वित्तीय सेवा, ट्राभल एजेन्सी र परामर्श लगायत समावेश गरिएको आयोजक समितिले बताएको छ ।
तर, अपार भीडका कारण केही पक्षमा कमीकमजोरी पनि देखिएको थियो। केही दर्शकले लामो भाषणप्रति असन्तुष्टि जनाउँदै हल्ला गरेका थिए, भने खानाको स्टलमा अभाव पनि देखिएको थियो। कार्यक्रममा कलाकारहरूको प्रस्तुति ढिलाइ हुनु, व्यवस्थापनमा अलमल हुनुजस्ता विषयहरू उल्लेख गरिएका थिए।

यही विषयलाई सम्बोधन गर्दै भिम मल्ल ठकुरीले भने, “हामीले अपेक्षा गरेकोभन्दा धेरै भिड भएको थियो। केही कमीकमजोरी अवश्य भए पनि हामीले त्यसलाई गम्भीर रूपमा लिएका छौं। आगामी संस्करणमा अझ व्यवस्थित, सहभागीमैत्री र भव्य बनाउन प्रतिबद्ध छौं।”
कार्यक्रमको समापनतर्फ नेपाली उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईमा रहेका नेपालीलाई नेपालमै लगानी गर्न आह्वान गर्दै भने, “विदेशमा कमाएको केही हिस्सा देशको समृद्धिमा लगानी गर्नु आवश्यक रहेको बताएका थिए।
गैरआवासीय नेपाली संघ, यूएईका अध्यक्ष विकास शाहीले महोत्सव सफल पार्न योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।
उक्त सांस्कृतिक महोत्सवमार्फत नेपाल र यूएईबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, सांस्कृतिक कूटनीतिलाई बलियो बनाउने र पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विश्वास लिएको आयोजक समितिलेले जनाएको छ ।
तस्बिर उपलब्ध भिम मल्ल ठकुरी
