
- निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको गृहमन्त्रीले बताउनुभएको छ।
- अनुसन्धानलाई प्रभावित पार्ने गरी अनावश्यक टिप्पणी नगर्न सांसदहरूलाई आग्रह गरिएको छ।
- पीडित परिवारलाई थप मानसिक पीडा नदिई अनुसन्धानको नतिजा कुरिदिन सरकारको अनुरोध छ।
काठमाडौ – गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउँदै अनुसन्धानलाई प्रभाव पार्ने गरी अनावश्यक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणमा दोषी पहिचान गरी न्याय दिन सरकार किन असफल भएको भन्ने प्रश्न उठाउनुभएको थियो।
जवाफमा गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान सरकारले निरन्तर गरिरहेको बताउनुभयो। उहाँले निर्मला पन्तको घटना अत्यन्त संवेदनशील भएकाले सूक्ष्म रूपमा अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो।
उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको हो?”
गृहमन्त्री गुरुङले पीडित परिवारलाई थप पीडा पुग्ने गरी संवेदनशील विषयमा सार्वजनिक बहस गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्दै अनुसन्धानलाई निष्कर्षमा पुर्याउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रूपमा अनुसन्धान गरेर नतिजा दिने हो? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन। हामीले यस विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ।”
साथै, उहाँले भविष्यमा यस्ता संवेदनशील विषय राष्ट्रिय सभा वा प्रतिनिधि सभामा बारम्बार नउठाइदिन सांसदहरूलाई आग्रह गर्नुभयो। पीडित परिवारलाई थप मानसिक पीडा नपुग्ने गरी यस्ता विषय आवश्यक परे व्यक्तिगत रूपमा जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो।
