
- चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
- चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १४९ रनमा समेटियो।
- आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स बेलुकी ५ बजे भिड्दै छन्।
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी शुरुआत गरेको छ ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा १४९ रन बनाउँदा सबै विकेट गुमायो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३, लोकेश बलमे २६ रन बनाए । चितवनका कमल ऐरीले ४, रिजन ढकालले २ विकेट लिए ।

एक समय ५ विकेट गुमाएर १३२ रनकाे अवस्थामा रहेकाे विराटनगरले त्यसपछि १७ रन जाेड्दा बाँकी सबै विकेट गुमाउन पुग्याे ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए ।
एनपीएलमा आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।
एनपीएल हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको हो ।
