
- लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको गठबन्धनमा खटपट हुँदा सरकार फेरबदलको सम्भावना बढेको छ।
- कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेपछि एमालेले नेकपासँग नयाँ सत्ता समीकरणको गृहकार्य सुरु गरेको छ।
- प्रदेशसभाको गणितअनुसार कांग्रेस बाहिरिएमा सरकारको भविष्य नयाँ मोडमा पुग्ने निश्चित देखिएको छ।
काठमाडौ -नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनमा देखिएको असमझदारीसँगै लुम्बिनी प्रदेशमा सरकार फेरबदलको सम्भावना बढेको छ । पार्टी केन्द्रको निर्णयअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ ।

एमालेका चेतनारायण आचार्य कांग्रेसको समर्थनमा २०८१ साउन ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । हाल प्रदेश सरकारमा कांग्रेसका पाँच जना मन्त्री सहभागी छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य कायम छन् । जसमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सदस्य रहेका छन् । नेकपाका १३ सदस्यमध्ये एक जना सभामुख हुनुहुन्छ ।
कांग्रेसले समर्थन फिर्ता लिएमा एमालेले नयाँ सत्ता समीकरणका लागि नेकपासँग सहकार्यको प्रयास गर्ने संकेत दिएको छ । लुम्बिनी प्रदेश सरकारका मन्त्री तुलसी चौधरीले कांग्रेससँगको गठबन्धन कायम रहोस् भन्ने एमालेको चाहना रहेको बताउँदै कांग्रेस सरकारबाट बाहिरिए नेकपासँग सत्ता सहकार्यबारे छलफल हुन सक्ने बताउनुभयो ।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, जनता समाजवादी पार्टी नेपालका २, जनमत पार्टीका ३, जसपाका १, राष्ट्रिय जनमोर्चाका १ तथा एक स्वतन्त्र सांसद रहेका छन् । कांग्रेसको निर्णयपछि लुम्बिनी प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुग्ने देखिएको छ ।
