
- प्रचण्डले जेनजी आन्दोलनपछि देशमा राजतन्त्र फर्किने खतरा बढेको बताएका छन्।
- नारायणहिटी दरबार सफा गरिएको सूचनाले आफूहरूलाई थप चिन्तित बनाएको उनको भनाइ छ।
- भदौ २६ गते देशलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउन आफूहरू सक्रिय भएको उनले दाबी गरे।
काठमाडौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि आफ्नोभन्दा देशको बढी चिन्ता लागेको दाबी गरेका छन्।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन्।
भदौ २६ गते देशमा राजतन्त्र फर्किन लागेको चर्चा भइरहँदा आफूहरू रातिसम्म राष्ट्रपति निवास शीतलनिवासमा बसेर देशमा अर्को दुर्घटना नहोस् भनेर देशको लागि चिन्ता गरेको दाबी गरे।
नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा हुँदै थियो । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्। नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त स्थिति ? जनता र नेताको सम्बन्ध कटेको छ। कार्यकर्तासँग पनि कटेको छ। असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो। २६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो। हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन।
