काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आजको नेपाललाई “क्रान्तिकारी विकास” चाहिएको बताएका छन्। सोमबार पार्टीले काठमाडौँको सिँफल चौरमा आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्दै साम्पाङले युवाशक्ति र श्रम संस्कृतिमार्फत मुलुकलाई आर्थिक समुन्नतितर्फ लैजाने प्रतिवद्धता दोहोर्याए।

कार्यक्रममा राजधानीका विभिन्न क्षेत्रबाट उल्लेख्य संख्यामा युवासहित स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। पार्टीले पहिलोपटक काठमाडौँमा आयोजना गरेको यो सभा अपेक्षाकृत भब्य भएको आयोजकहरूले जनाए।
साम्पाङले देशको मौलिक संस्कृतिसँग युवालाई जोड्दै राष्ट्रनिर्माणको अभियानमा एकताबद्ध हुन अपील गरे। “अब बाहिरको ऋणको भरमा बाटो–पुल बनाउने समय समाप्त भएको छ,” उनले भने, “हाम्रो पार्टी श्रमदान र जनसहभागितामार्फत विकासको नयाँ मोडेल अघि सार्दैछ।”
उनका अनुसार विदेशी ऋणको भारी बोझले देश अशक्त बन्दै गएको अवस्थामा जनश्रम र स्थानीय स्रोत–साधनकै mobilization नै दिगो समाधान हो। उनले मुलुकलाई स्वाभिमानी, सक्षम र उत्पादनमुखी बनाउने दीर्घ लक्ष्य आफूहरूको रहेको बताए।
सभा स्थलमा पार्टीका अन्य नेताहरूले पनि श्रम–सम्मान, युवाको ऊर्जा र पारदर्शी नेतृत्वका विषयमा जोड दिएका थिए।
कार्यक्रम शान्तिपूर्ण र अनुशासित ढंगले सम्पन्न भएको छ ।
