रतन बहादुर रावल मुगु, ६ कात्तिक । मुगु जिल्लामा आगामी कात्तिक ७ गतेदेखि ‘दोस्रो जेपी स्मृति फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। आयोजक जेपी स्मृति क्लबले शुक्रबार गमगढीस्थित होटल स्वस्तिकामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो।छायाँनाथ रारा नगरपालिकामा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने यस प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरी हालसम्म ५५ वटा टिम दर्ता भइसकेका छन्। खेलहरू दैनिक बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

क्लबका संयोजक नन्दबहादुर मल्लका अनुसार प्रतियोगिताको पुरस्कार राशि यसप्रकार तोकिएको छ:

प्रथम पुरस्कार: रुपैयाँ २,०१,१११ (दुई लाख एक हजार १११)द्वितीय पुरस्कार: रुपैयाँ १,००,१११ (एक लाख १११)
यसका साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम तथा अनुशासित टिमलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन प्रतिटिम १० हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। तर, प्रतियोगिताको उद्घाटन सत्रमा उत्कृष्ट मार्चपास गर्ने टिमलाई प्रोत्साहनस्वरूप दर्ता शुल्क फिर्ता गरिने संयोजक मल्लले जानकारी दिए। स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने, युवाहरूलाई खेलकुद तर्फ आकर्षित गर्ने र प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। खेललाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षा व्यवस्था समेत मिलाइएको छ।खेलमैदानको अभाव कायमै
पत्रकार सम्मेलनमा बोल्दै संयोजक मल्लले मुगुमा व्यवस्थित खेलमैदान नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न निकै कठिनाइ भइरहेको गुनासो गरे। हरेक वर्ष खेलकुदका लागि विद्यालयकै मैदानमा भर पर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यस पटक पनि महाकाली नमुना माविकै मैदान प्रयोग गर्न लागिएको उनले बताए। विद्यालयको मैदान प्रयोग गर्दा भौतिक संरचनामा कुनै क्षति पुगेमा आयोजकले नै क्षतिपूर्ति बेहोर्ने सर्तमा सम्झौता गरिएको समेत उनले जानकारी दिए।
