भदौ २४ मा जेनजी आन्दोलन हिंसात्मक रूप लिँदै बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी र तोडफोड भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ प्रसारण गर्दै अश्लील र उत्तेजक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि टेलिभिजनबाट परिचित अमनप्रताप अधिकारी विवादमा परेका छन्। पृष्ठभूमिमा संसद भवन जलेको दृश्य रहेको उक्त भिडिओमा अधिकारीले अराजक भिडसँगै खुसी व्यक्त गर्दै आपत्तिजनक शब्दावली प्रयोग गरेको देखिन्छ।

फुटबलका पूर्व ए–डिभिजन खेलाडीसमेत रहेका अधिकारी पछिल्लो समय कमेन्ट्री र रियालिटी शोका प्रस्तोता–निर्माता भनेर चिनिन्छन्। नेपालकै पहिलो साहित्यिक रियालिटी शो ‘द पोयट आइडल’ का परिकल्पनाकार तथा निर्देशक उनी ‘हिमालयन रोडिज’ का होस्टको रूपमा पनि चर्चित थिए। तर सो दिनको भिडिओले उनको सार्वजनिक छवि नै प्रश्नमा परेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।
अधिकारीको फेसबुक वालमै राखिएको भिडियोमा उनले संसद भवन जलेको दृश्य देखाउँदै उन्मत्त शैलीमा अभद्र शब्द प्रयोग गरेका छन्। जस्ताको तस्तै उद्धृत गर्न कठिन त्यस भिडियोमा उनले संसद भवन ढलेकै अवस्थामा खुसी मनाउँदै “देखिस, जल्यो तेरो देश” जस्ता अभिव्यक्ति दिएका छन्। उक्त भिडियो यो समाचार तयार हुँदासम्म पनि उनको वालबाट हटाइएको छैन। उनले भिडियोमा बारम्बार आक्रोशपूर्ण र अपाच्य अभिव्यक्ति दोहोर्याउँदै अपमानजनक टिप्पणी गरेको देखिन्छ।
जेनजी आन्दोलनको शुरुदेखि नै अधिकारीले भिडियो र स्टाटसमार्फत समर्थन गर्दै आएका थिए। तर सो दिन संसद भवन जलेको पृष्ठभूमिमा गरिएको अश्लील प्रसारणपछि आन्दोलन समर्थनभन्दा पनि अराजकतामा उत्साहित देखिएको आरोप लागिरहेको छ। उनका निकट र चिन्नेहरूले समेत यस्तो व्यवहार अपेक्षा बाहिर रहेको प्रतिक्रिया दिएका छन्।
अमनप्रताप अधिकारी प्रतिष्ठित गीतकार स्व. क्षेत्रप्रताप अधिकारीका कान्छा छोरा हुन्। पञ्चायतकालमा क्षेत्रप्रताप तनहुँबाट राष्ट्रिय पञ्चायत सदस्य र २०४३ सालमा शिक्षा राज्यमन्त्रीसमेत बनेका थिए। कविताजस्तो संवेदनशील विषयमा रियालिटी शो बनाएका अमनबाट संयमित भाषा र जिम्मेवार व्यवहार अपेक्षा गरिएको भए पनि सार्वजनिक भिडियोले उल्टो छवि प्रस्तुत गरेको बताइँदै छ।
संसद भवन जस्तो राष्ट्रिय शक्ति–प्रतिष्ठानमाथि भएको गरेको आगजनीलाई लिएर सर्वत्र निन्दा भइरहँदा सार्वजनिक व्यक्तित्वको हैसियतमा रहेकाले अधिकारीको बोली, व्यवहार र भूमिकाबारे प्रहरीले अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने–नबढाउने भन्ने विषय भने औपचारिक रूपमा खुलेको छैन।
तर उनको त्यो बोल्ने शैली र गाली गलोजको भिडियो हाम्रो समाजमा सुन सकिने अबस्थामा छैन निकै तल्लो स्तरमा झरेर उनले तेरो देश जल्यो मु…… भनु र यहाँ उल्लेख गर्न नसकिने सब्द हरु पर्योग हुनु निकै गम्भीर प्रश्न छ सरकार र संबंधित निकाएले यो सम्बन्धि पकै कामकारबाही गर्ने छ ध्यानाकर्षण गराउन चाहान्छौ ।
