अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कस्थित घरमा भएको आगजनी र तोडफोड घटनामा पक्राउ परेका तीन जना अदालतको आदेशपछि बिहीबार थुनामुक्त भएका छन्।

जिल्ला न्यायाधीश शिवलाल पाण्डेयको इजलासले उनीहरूलाई घटनास्थलका भिडियो तथा तस्वीरहरूमा प्रत्यक्ष संलग्नता नदेखिएकाले म्याद थप गरी अनुसन्धान गर्न आवश्यक नठानेको हो। त्यसपछि बुधबार पक्राउ परेका ती तीनै जना बिहीबार रिहा भएका हुन्।
पक्राउ परेकामध्ये भूमिकास्थान–१ घर भई हाल सन्धिखर्क–२ घोचेखोला बस्ने स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनाल, भक्तिटोलका पुष्पलाल गौडेल र सोही वडाका चूरामणि ढुंगाना रहेका छन्।
मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले घरमा तोडफोड र आगलागी गराएको भन्दै ११ जनाविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा जाहेरी दर्ता गरेकी थिइन्। भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्रीको घरमा आगजनी भएको थियो।
अदालतमा दर्ता जाहेरी अनुसार घरभित्रका सामग्री जलेर करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको र संरचना समेत बस्न अयोग्य बनेको उल्लेख छ, जसको मूल्य करिब ६० लाख रुपैयाँ बराबर तोकिएको छ।
प्रहरीले बुधबार बजार क्षेत्रबाट खनाल, गौडेल र ढुंगानालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा नियन्त्रणमा लिएको थियो। अदालतको आदेशपछि उनीहरूलाई साधारण तारेखमा रिहा गरिएको छ।

