अर्जुन थापा नयाँदिल्ली – हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी (दशैं) को अवसर पारेर यस वर्ष भारतको राजधानी दिल्लीमा पहिलो पटक नेपाली पञ्चेबाजा सहितको भव्य सराय नाच कार्यक्रम हुन लागेको छ।

नेपालको मौलिक परम्परा, संस्कृति र पहिचानलाई भारतमा पनि झल्काउने उद्देश्यले आयोजना गरिएको यो संयुक्त कार्यक्रम दिल्लीका विभिन्न संघ–संस्था र समुदायका प्रतिनिधिहरूको संयुक्त प्रयासमा सम्पन्न हुन लागेको हो।
कार्यक्रम आउँदो अक्टोबर ५ गते, आईतवार (त्रयोदशीको दिन) दिल्लीको सावन नगर कम्युनिटी हल नजिकै सादीक नगर मार्केट, हुड्कोप्लेसमा आयोजना हुनेछ।
कार्यक्रम निःशुल्क हुनेछ र दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
‘सराय नाच’ नेपालका पश्चिम पहाडी जिल्लाहरू — अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा लगायत क्षेत्रमा लोकप्रिय मौलिक सांस्कृतिक नृत्य हो।
रंगीचंगी ध्वजापतकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा लिइन्छ।
लाइनमा उभिएका सयौँ भक्तजनहरूले समूहगत रूपमा नाच्दै अर्को समूहमाथि आक्रमण गरेझैँ देखिने यो नाच वास्तवमा धार्मिक र सांस्कृतिक उत्सवको रमाइलो प्रतीक हो।

धार्मिक विश्वास अनुसार, राक्षससँगको युद्धमा सत्यको विजयपछि देवी दुर्गा र कालिकाको प्रसन्नताका लागि यो नाच आरम्भ भएको मानिन्छ।
बुढापाकाका भनाइअनुसार बाइसेचौबिसे राज्यकालमा भुरे राजाहरूले आफ्नो कोतमा सराय नाच नचाउने चलन सुरु गरेका थिए।
इतिहासविद्हरूका अनुसार, सराय नाचको सुरुवात अर्घा दरबारबाट भएको हो।
संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार अर्घाराज्यका राजा जिल्ला राईले आफूले राज्य जितेको उपलक्ष्यमा विजयोत्सव स्वरूप विजया दशमीको कोजाग्रत पूर्णिमामा सराय नाच नचाएर, दहीकेरा र बक्सिस बाँड्ने परम्परा सुरु गरेका थिए।
यही परम्परा कालान्तरमा संस्कृति, आस्था र एकताको प्रतीक बन्दै देशभर फैलिएको हो।

यस्तो मौलिक नाचलाई भारतमा पहिलो पटक पञ्चेबाजासहित प्रस्तुत गरिँदै हुनु विदेशमा बसोबास गर्ने लाखौं नेपालीहरूको लागि गर्वको विषय बनेको आयोजक समितिले बताएको छ।
आयोजकहरूका अनुसार यस कार्यक्रमले नेपाली र भारतीय जनबीचको सांस्कृतिक मित्रता अझ मजबुत पार्नेछ भने नयाँ पुस्तालाई “आफ्नो संस्कृतिलाई जोगाउने प्रेरणा” दिनेछ।
संयुक्त आयोजनामा विविध संघसंस्थाको भूमिका यो ऐतिहासिक सराय नाच कार्यक्रम दिल्ली–एनसीआर क्षेत्रमा रहेका विभिन्न नेपाली संघसंस्था, कलाकार, समाजसेवी र समुदायका अगुवाहरूको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो।
नयाँ पहिरनमा सयौँ मान्छेको भीडमा एउटा हातमा चम्कने खुँडा, तरबार, भाला र अर्को हतमा ढाल रुमाल वा अरु केही । सुरुमा हतियार नचाएर अभिनय, त्यसपछि भट्टाउँदै ‘वाख्खै हो, वाख्खै हो’ भन्दै सनाई र बाजाको तालमा नाचगान हुने यो परम्परा भोलि दिल्लीमा पनि देखन सक्नु हुने छ ।
आयोजक समितिका प्रतिनिधिहरूको भनाइ अनुसार “दिल्लीमा पहिलो पटक यस्तो मौलिक नेपाली सांस्कृतिक कार्यक्रम हुन लागेको छ। हाम्रो उद्देश्य नेपाली परम्परा र संस्कृतिलाई यहाँका नयाँ पुस्तामा पुनर्जीवित गर्नु बताएका छ्न ।
कार्यक्रम विवरण
मिति: ५ अक्टोबर २०२५, आईतवार (त्रयोदशी)
स्थान: सावन नगर कम्युनिटी हल नजिक, सादीक नगर मार्केट, हुड्कोप्लेस, दिल्ली
समय: दिउँसो १२:०० बजेदेखि साँझ ८:०० बजेसम्म
प्रवेश शुल्क: निःशुल्क
सम्पर्क व्यक्ति र संयोजकहरूको फोन नम्बर
शृष्टि अधिकारी (९९७१४१०३६३), राजु परियार (८५२७६८७८३४), विष्णु प्रसाद पौडेल (९८१८४६१४६४),
विन बहादुर (९८१०६७०४४१), घनश्याम शर्मा (९८१०४४१३२७ / ८१३०८७०३९८), राम नेपाल (८८२६५०५६७८),
गणेश खड्का (९९७१०९९६०२), टेकराज पोखरेल (९९९९८९०६७६), विष्णु खनाल (९९५३७२८६६५),
बलु थापा (९८१८९७५०१७), रामप्रसाद पाण्डे (८५९५८८६१२५), दामोदर पाण्डे (९९७११८९०३१),
रोहित कुमार गैरे (९६५४४०९०२८) लगायतका व्यक्तिहरूले संयुक्त रूपमा यो कार्यक्रमको संयोजन गरिरहेका छन्
उक्त कार्यक्रम बाट संस्कृति, पहिचान र एकताको सन्देश आयोजकहरूका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि नभई संस्कृति र एकताको सन्देश दिने माध्यम पनि हो।
नेपाली समुदायबीचको सहकार्य र एकताले भारतमा नेपाली संस्कृतिको गौरव बढाउने र दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने अपेक्षा लिइएको छ।
आयोजक समितिले दिल्ली तथा आसपासका क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दै यो ऐतिहासिक क्षणको साक्षी बन्न आग्रह गरेको समेत गरेको छ।

