मुम्बई | फागुन ५ नेपालले आईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि ऐतिहासिक जित दर्ता गरेको छ। समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सान्त्वना मात्र होइन, आत्मविश्वास पनि बटुलेको हो।

१७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुरुआतदेखि नै संयमित ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी निर्णायक नायक बने।
दीपेन्द्रले २३ बलमा ५० रनको विस्फोटक अविजित अर्धशतक प्रहार गर्दै खेल नेपालतर्फ मोडे। उनले ४ चौका र ३ छक्का प्रहार गरे। गुल्शन झाले २४ रनमा अविजित रहँदै उत्कृष्ट साथ दिए।
यस अर्धशतकसँगै दीपेन्द्र विश्वकपमा नेपालका लागि दुई अर्धशतक बनाउने तथा लगातार दुई खेलमा फिफ्टी हान्ने पहिलो खेलाडी बनेका छन्।
बलियो सुरुआत ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै नेपाललाई सहज आधार दिए। भुर्तेलले ४३ रन बनाउँदा चार छक्का प्रहार गरे भने आसिफले ३३ रन जोडे।
मध्यक्रममा कप्तान रोहित पौडेल छिट्टै आउट भए पनि दीपेन्द्र र गुल्शनको साझेदारीले दबाब हटायो। अन्तिम ओभरमा ५ रन आवश्यक हुँदा गुल्शनको चौकासँगै नेपालले जित सुनिश्चित गर्यो।
स्कटल्यान्डको चुनौतीयसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले ७१ रनको आक्रामक इनिङ्स खेले।
तर अन्तिम पाँच ओभरमा नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गरे। सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट झारे। डेथ ओभरको किफायती बलिङ नै नेपालको जितको आधार बन्यो।
१२ वर्षपछि ऐतिहासिक क्षण नेपालले यसअघि सन् २०१४ मा अफगानिस्तानलाई हराएको थियो। त्यसयता विश्वकपमा जित नआएको अवस्थामा यो सफलता नेपाली क्रिकेटका लागि विशेष मानिएको छ। समूह चरणबाट बाहिरिए पनि अन्तिम खेलको यो जितले नेपाली टोलीको आत्मबल उकासेको छ र भविष्यका प्रतियोगितामा सकारात्मक संकेत दिएको छ भने नयाँ खेलाडी हरु लाई समेत हौसला मिल्ने छ ।
