
- भारतको मध्य प्रदेशमा कौसीबाट गुट्खा थुक्ने क्रममा हाईटेन्सन तारमा छुँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको करेन्ट लागेर मृत्यु भएको छ।
- घटनापछि आक्रोशित स्थानीयले घरनजिकै रहेको असुरक्षित विद्युत् लाइन हटाउन पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने स्थानीयले विद्युत् विभागको लापरबाही भन्दै तत्काल सुधारको माग गरेका छन्।
अर्जुन क्षेत्री भारत -भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गंजबासोदामा घरको तेस्रो तलाको कौसीबाट गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार दिउँसो कौसीमा उभिएका गुप्ता घरनजिकैबाट गएको ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आएका थिए।

करेन्ट लागेपछि गम्भीर रूपमा जलेका उनको मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएपछि आपत्कालीन उद्धार टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
मूल रूपमा छतरपुरका बासिन्दा गुप्ता विगत १० वर्षदेखि गंजबासोदामा भाडाको घरमा बस्दै आएका थिए। उनी मेकानिकको काम गरेर जीविकोपार्जन गर्दै आएका थिए।
घटनापछि स्थानीयले घरनजिकैबाट गएको हाईटेन्सन लाइन हटाउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको आरोप लगाएका छन्। स्थानीय मनिष विश्वकर्माले विद्युत् लाइन र उपकरणको नियमित मर्मतसम्भार नभएको भन्दै सम्बन्धित निकायसँग निरीक्षण र सुधारको माग गरेका छन्।
घरधनी पद्मा चिधरले पनि विद्युत् कम्पनीका अधिकारीलाई लाइन हटाउन पटक–पटक आग्रह गरेको तर आश्वासन पाए पनि काम अघि नबढेको बताएकी छन्।
