लुम्बिनी – अर्घाखाँचीमा आज आयोजित विशेष समारोहमार्फत नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीको पार्टी एकता घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सदरमुकाम सन्धिखर्कमा सम्पन्न एकता घोषणा सभामा पार्टीका केन्द्रीय नेता डा. बेदुराम भुसाल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा केन्द्रीय नेता तथा पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’, केन्द्रीय नेता सुदर्शन बराल, चन्द्रबहादुर खड्का, शुशिला सिर्पाली, पिताम्बर भुसाल, पिताम्बर सारु, राजेन्द्र भुसाल, सुशील भट्टराई, नारायण शर्मा, प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेश सल्लाहकार, सहिद परिवारका प्रतिनिधि, जिल्ला सदस्य तथा सल्लाहकार, पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रमुख र उल्लेखनीय संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। जिल्लामा सक्रिय सञ्चारकर्मीहरूको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रम विशेष रूपले आकर्षक बनेको थियो।
कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य ठाकुरकुमार विकले गरेका थिए। स्वागत मन्तव्य केन्द्रीय सदस्य छमकुमारी खनालले राखिन् भने कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य रामबहादुर चौहानले गरेका थिए।
वातावरण उत्साहजनक कार्यक्रमको पूर्वसन्ध्यामा सन्धिखर्क बजार उत्साहपूर्ण र हर्षोल्लासमय देखिएको थियो। विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट आएका नेता तथा कार्यकर्ता बाजागाजासहित र्यालीका रूपमा सदरमुकाम प्रवेश गर्दै पार्टी एकताको घोषणाप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।पार्टी एकताबाट जिल्लामा नयाँ राजनीतिक उर्जा र सशक्त संगठनात्मक संरचना निर्माण हुने अपेक्षा सहभागीले व्यक्त गरेका थिए। 
नेताहरूले पार्टी–एकताले अर्घाखाँचीमा मात्र होइन, प्रदेश र राष्ट्रिय राजनीतिमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमका वक्ताहरूले एकताको माध्यमबाट संगठनलाई अझ बलियो बनाउने, वैचारिक स्पष्टता र जनतामाझ सक्रियता बढाउने, नयाँ राजनीतिक ऊर्जा सिर्जना गर्ने जस्ता लक्ष्यहरू साझा रूपमा प्रतिवद्धता व्यक्त गरेका थिए ।


