अर्जुन थापा लुम्बिनी – अर्घाखाँचीमा भएको एउटा डरलाग्दो घटना अहिले बाहिर भएको छ । आफ्नै श्रीमतीलाई हत्या गरेर भान्साकोठामा खाल्डो खनी गाड्ने काम गरेको अभियोगमा ३६ वर्षका किरण गुरुङ पक्राउ परेका छन् । प्यूठान नोपोबीनी गाउँपालिका–१ स्याउलिबाङ घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा बस्दै आएका उनले आफ्नी ३४ वर्षीया श्रीमती सुमिना गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना भदौ १६ गते बिहान करिब ९ बजेतिर भएको हो । श्रीमती बेपत्ता भएको भन्दै आएको सूचनाका आधारमा प्रहरी चौकी बल्कोट र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुसन्धान सुरु गरेको थियो । दिनभर खोजतलास गर्दा पनि नपाएपछि श्रीमानमाथि शंका गएर प्रहरीले थप अनुसन्धान अघि बढायो । त्यसक्रममा किरण गुरुङ आफैंले श्रीमतीलाई हत्या गरी घरको भान्साकोठामा खाल्डो खनी गाडेको स्वीकार गरेपछि प्रहरी टोलीले राति करिब १०ः३० बजेतिर शव उत्खनन गरेको हो । शवलाई पछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानमा खुलेका अनुसार किरण र सुमिनाको करिब १० वर्षअघि प्रेम सम्बन्धका आधारमा दोस्रो विवाह भएको थियो । दुबैजनाको यसअघि पनि आ–आफ्नो वैवाहिक जीवन रहेको र किरणको पहिलो श्रीमती तथा दुई छोरी छन् भने सुमिनाको पनि पहिलो श्रीमानसँग दुई छोरी रहेका छन् । दोस्रो विवाहपछि उनीहरू सँगै बस्दै आएका भए पनि बीचबीचमा पारिवारिक विवाद भइरहने गरेको प्रहरीको भनाइ छ । सोही विवादकै क्रममा भदौ १६ गते बिहान किरणले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् ।
हत्या गरेपछि घटनालाई लुकाउन उनले आफ्नै भान्साकोठामा खाल्डो खनी शव गाडेका थिए । दिउँसो करिब ३ः३० बजेतिर प्रहरी सोधपुछमा उनले सबै कुरा खुलेर बताएपछि प्रहरी टोली खाल्डो खनेर शव बाहिर ल्याउन सफल भएको थियो । घटनापछि प्रहरीले घटनास्थलमै प्रयोग भएका बाँसको लाठी, हँसिया, गैंती, बेल्चा, सानो कोदालीसहित अरेन्ज रसको खाली र भरिएको बोतल समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माले प्रारम्भिक अनुसन्धानमै अभियुक्तले गल्ती स्वीकार गरिसकेको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । प्रमुख डिएसपी चक्रबहादुर मल्लका अनुसार यस्तो डरलाग्दो घटना गाउँमै भएकोले प्रहरी पूर्ण गंभीरताका साथ अघि बढिरहेको छ । उहाँले अभियुक्तलाई कानूनी प्रक्रिया अघि बढाइने बताउनुभयो ।
गाउँमा भने यो घटनाले सबैलाई स्तब्ध पारेको छ । सामान्य घरायसी विवादकै कारण हत्या जस्तो अपराध हुनु दुःखद भएको स्थानीयले बताएका छ्न । उक्त घटना घटाउनु अघि उनले मादक पदार्थ समेत सेवन गरेको प्रहरीले जनाएको छ।


