अर्घाखाँची, असार १३ – अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न:६ पाखापानीमा आपसी विवादका क्रममा दाजुले आफ्नै भाइलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्।

बुधबार साँझ करिब ८ बजे विष्णु भन्ने टेकबहादुर वादीले २३ वर्षीय सगाैलाे भाइ बोम बहादुर वादीमाथि बन्चरो प्रहार गरेका थिए। मादक पदार्थ सेवनपछि बिँढी माग्दा विवाद चर्किएपछि उनले बन्चरो प्रहार गर्दा बोम बहादुर वादि गम्भीर घाइते भएका थिए।
स्थानीयको प्रहरीको सहयोगमा घाइतेलाई शितगंगा नगरपालिका– स्थित ठाडा स्वास्थ्य चौकी लगिएको थियो स्वास्थ चौकीमा चेक चाज गर्दा उनलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिएका छ्न।
घटनापछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले आरोपी टेकबहादुर वादीलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा राखिएको छ। साथै घटनामा प्रयोग गरिएको बन्चरो समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ व्यक्तिको विवरण विष्णु भन्ने टेकबहादुर वादी, उमेर ४५ वर्ष, स्थायी ठेगाना शितगंगा नगरपालिका–६, पाखापानी, पक्राउ मिति २०८१ असार १२ गते, पक्राउ स्थान शितगंगा नगरपालिका–६, खमरी बाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार मृतकको शव पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छ्न।

