अर्घाखाँची — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि नेपाल भएको दाबी गर्दै, नेपालको ऐतिहासिक र बौद्धिक गौरवलाई पुनर्स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ र २ को संगमस्थलमा आयोजित ‘पाणिनि तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै उनले पाणिनि अर्घाखाँचीमै जन्मिएका हुन् भन्ने ऐतिहासिक प्रमाणहरू रहेको बताए।

कार्यक्रमका क्रममा पाणिनि गाउँपालिका–१ स्थित तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनि मन्दिरको शिलान्यास पनि सम्पन्न भएको छ। प्रधानमन्त्रीले यस मन्दिरलाई केवल आस्थाको केन्द्र मात्र नभई, पाणिनिको योगदान स्मरण गराउने ऐतिहासिक स्थलका रूपमा विकास गरिने बताए।

प्रधानमन्त्री ओलीले भने, “गौतम बुद्ध, कपिलमुनि, पतञ्जली ऋषि, श्रृंगी ऋषि, शिव, र स्वयं पाणिनि पनि यही नेपाली भूमिमा जन्मिएका हुन्। पाणिनिको ‘अष्टाध्यायी’ संसारकै सबैभन्दा वैज्ञानिक व्याकरण हो, जसलाई अन्य सबै व्याकरणहरूले आधार मानेका छन्।”
उनले थपे, “महर्षि पाणिनिको योगदानबाट हाम्रो प्यारी मातृभूमि नेपाल प्राचीन कालमै ध्यानभूमि, ज्ञानभूमि र देवभूमिका रूपमा परिचित भएको हो।”
सम्मेलनको उद्घाटन समारोह सम्पन्न हुँदै गर्दा अचानक असिना पानी परेपछि पाणिनि तपोभूमि क्षेत्रको वातावरण केहीबेर अस्तव्यस्त बनेको थियो। मौसमको खराबीका बाबजुद, कार्यक्रम व्यवस्थित ढंगले सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले पाणिनिको नाममा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउँदै, यस्ता ऐतिहासिक र बौद्धिक धरोहरको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भीर रहेको स्पष्ट पारे।
तस्बिर सहित




