काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित साँखु–नगरकोट सडकखण्डमा मंगलबार बिहान भएको स्कुल बस दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने ४० भन्दा बढी घाइते भएका छन्। चावहिलस्थित एसएस एकेडेमीका विद्यार्थी तथा शिक्षक लिएर गएको बसको ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिमा ओरालो झर्दै गर्दा अचानक नियन्त्रण गुमाएर सडक किनारमा पल्टिएको थियो। बसमा झन्डै ५० जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी र उद्धार टोलीले तुरुन्तै उद्दार कार्य सुरु गरेका थिए।
दुर्घटनामा परी १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेलको मृत्यु भएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ। चार जनाको शंखरापुर अस्पतालमा र अन्य दुई जनाको नेपाल मेडिकल कलेज तथा टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा परी घाइते भएका ४० भन्दा बढी यात्रुमध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूका अनुसार केही घाइतेको शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको छ भने कतिपयलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।
स्थानीय बासिन्दाले यस क्षेत्रमा पटक–पटक यस्ता दुर्घटना भइरहे पनि सम्बन्धित निकायले यातायात सुरक्षामा ध्यान नदिएको गुनासो गरेका छ्न। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ बसको प्राविधिक परीक्षण गरेर मात्र दुर्घटनाको कारण स्पष्ट रहने प्रहरीले जनाएको छ ।
