काठमाडौं, माघ १६ – हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं महानगरपालिकाले शहीद दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। शहीदहरूको बलिदानको स्मरण गर्दै मंगलबार लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको छ।

सोही अवसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न सबै राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिइन्।
उहाँले भनिन्, “शहीदहरूले देखेको सपना साकार पार्नका लागि हरेक तहका नेतृत्वले एकै स्थानमा उभिएर सहकार्य गर्न आवश्यक छ। नेतृत्वदायी भूमिकामा रहेका सबैलाई यो जिम्मेवारीबोध गराउन चाहन्छु।”
काठमाडौं महानगरपालिकाले माघ १० गतेदेखि शहीद सप्ताह विभिन्न कार्यक्रमसहित मनाइरहेको छ। महानगरपालिकाले शहीदहरूको योगदानको सम्मान गर्दै नागरिकहरूलाई उनीहरूका विचार र आदर्शलाई आत्मसात गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।
