ओखलढुंगा – जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाको आयोजनामा माघ २२ देखि २७ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभि (ह्युमन प्यापिलोमाभाइरस) खोप लगाइने भएको छ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालयमा अध्ययन नगरेका किशोरीहरूलाई स्वास्थ्यचौकीमार्फत खोप प्रदान गरिनेछ। जिल्लामा रहेका १३४ विद्यालय, ७७ स्वास्थ्य संस्था र अन्य दुई केन्द्र गरी २१३ खोप केन्द्र स्थापना गरिनेछ।
स्वास्थ्य कार्यालयका अनुसार यस पटक जिल्लाभर ७,२०१ किशोरीलाई खोप लगाउने तयारी छ। सिद्धिचरण नगरपालिकामा १,३६७, चिसंखुगढी गाउँपालिकामा ६३४, मानेभञ्याङ गाउँपालिकामा १,००९, मोलुङ गाउँपालिकामा ९०५, सुनकोशी गाउँपालिकामा १,०८०, लिखु गाउँपालिकामा ६१३, चम्पादेवी गाउँपालिकामा ९३८ र खिजीदेम्बा गाउँपालिकामा ६५५ जना किशोरीलाई खोप दिइनेछ।
नेपाल सरकारले आगामी वर्षदेखि एचपिभि खोपलाई नियमित कार्यक्रमअन्तर्गत समेट्ने योजना बनाएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यो खोपले किशोरीहरूलाई पाठेघर मुखको क्यान्सरको जोखिमबाट बचाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
