गुल्मी। नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले सहकारी क्षेत्रको समस्यालाई समाधान गर्न वर्तमान गठबन्धन सरकारले ठोस कदम चालेको बताउनुभएको छ। तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहकारी क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि सरकार चारवटा तहबाट कार्य गरिरहेको जानकारी दिनुभयो।

उपमहासचिव ज्ञवालीले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनी कारबाही गरिने बताउँदै पीडितहरूको रकम फिर्ता गराउन सरकार दृढ रहेको उल्लेख गर्नुभयो। उहाँले सहकारी क्षेत्रलाई नियमन गर्न अधिकार सम्पन्न सहकारी प्राधिकरण गठन र बचत सुरक्षा कोष निर्माणको पहल सरकारले थालेको स्पष्ट पार्नुभयो।
देशलाई अस्थिरता र आर्थिक संकटबाट बचाउन गठबन्धन सरकार जिम्मेवार रहेको बताउँदै ज्ञवालीले सुशासन, विकास निर्माण र लगानीको वातावरण सिर्जना गर्न सरकार कटिबद्ध रहेको धारणा राख्नुभयो। उहाँले देशका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनले मुलुकलाई स्थिरता र आर्थिक प्रगतितर्फ अघि बढाएको दाबी गर्नुभयो।
अहिलेको सरकारको स्थायित्वबारे गलत सूचना फैलाउनेहरूले जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार कुनै पनि अस्थिर गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
