
- कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरीका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ।
- म्याग्दी, बागलुङ र मुस्ताङमा टेलिकम र इन्टरनेट सेवा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ।
- फाइबर मर्मत र नयाँ पोल गाड्ने अवस्था नरहेकाले सेवा सुचारु गर्न कठिनाइ भएको छ।
फाइबर चुँडिएपछि धवलागिरीका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ।

पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो।
म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढीले पाँच सय मिटर फाइवर जोडेको चारवटा पोल बगाउँदा सञ्चार सेवा प्रभावित भएको बताए।
‘टेलिकमले तानेको फाइवरमा अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि भाडामा लिएका हुन्छन्’, उनले भने, ‘वैकल्पिक व्यवस्था गरेर अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गरे पनि इन्टरनेट सञ्चालनका लागि पोल गाड्ने र तार तान्ने अवस्था नभएकाले आइतबार दिनभर प्रयास गरे पनि सफल हुन सकेन।’
