राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार

१. काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए।उनले बस चालकको राति १० बजे नै मृत्यु भएको पुष्टि गरे। मृतक चालकको नाम ठेगाना खुल्न बाँकी रहेको बताइएको छ।
छानबिन समिति गठन
त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। बा५ख ४२७४ नम्बरको बसमा आगजनी भएको थियो। समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन्। त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बस चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो। उक्त विवादपछि बसमा आगजनी भएको थियो। छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गर्नेछ।
२. प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज न्युयोर्क जाँदै छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जान लागेका हुन् ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका प्रधानमन्त्री बालेनले न्युयोर्कमा हुने महासभालाई असोज ८ गते सम्बोधन गर्नेछन् ।उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन वार्ता गर्ने कार्यक्रम छ ।राष्ट्रसंघीय महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन असोज १० मा स्वदेश फर्कने कार्यक्रम छ । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क पुगिसकेको छ ।
३. बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ।यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ।
जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो।जिल्लामा कक्षा ६ का चार हजार ३८० र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका करिब पाँच हजार ६९१ किशोरीलाई खोप लगाउने लक्ष्य छ। स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देवनारायण उपाध्यायले खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिए।पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रदान गरिने एचपिभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेको जानकारी दिँदै समन्वयकर्ता उपाध्यायले महिनावारी सुरु हुनुअघि एचपिभी खोप लगाउँदा प्रभावकारी हुने जानकारी दिए।एचपिभी खोपको पहुँच ९९ प्रतिशतभन्दा बढी लक्षित किशोरीमा पुर्याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ।
४.नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको छ ।त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम सुन २ लाख ६० हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी, १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ
५. रसुवा र नुवाकोटसहित देशका २२ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। मंगलबार ताप्लेजुङ, पाँचथर, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।सोही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाले केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएको छ।
६. अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।पोखरा विमानस्थल सञ्चालनमा आएको लामो समयपछि पहिलो पटक विदेशी वायुसेवाले यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो। फ्लाई दुबईले बुधबारदेखि दुबई-पोखरा-दुबई रुटमा दैनिक उडान गर्नेछ। कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार दुबईबाट आएको विमान साँझ ६:१५ बजे पोखरा अवतरण गर्ने र सोही दिन साँझ ७:१५ बजे दुबई फर्कनेछ। कम्पनीले १६० देखि १७० सिट क्षमताका एयरबस ए३१९ वा ए३२० जहाजमार्फत उडान गर्ने जनाएको छ।नियमित उडान सुरु भएपछि पोखरा र आसपासका यात्रुले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ। विशेषगरी दुबई हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली कामदार तथा विदेशबाट पोखरा आउने पर्यटकलाई यसबाट सुविधा पुग्ने अपेक्षा गरिएको छ। दुबईलाई ट्रान्जिट बनाएर १२० भन्दा बढी मुलुकमा कनेक्टिङ उडानको सुविधा रहेकाले अमेरिका, क्यानडा, बेलायतलगायत मुलुक जाने यात्रुले समेत पोखराबाट सेवा लिन सक्नेछन्।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले फ्लाई दुबईको नियमित उडानले नेपालको पर्यटन प्रवर्धनसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश जाने बताए। पोखरा विमानस्थलबाट यसअघि सिचुआन एयरलाइन्सले केही समय चार्टर उडान गरेको थियो भने हिमालयन एयरलाइन्सले सातामा एकपटक चार्टर उडान सञ्चालन गरेको थियो। नियमित व्यावसायिक उडान नभएपछि पछिल्लो एक वर्षदेखि पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।सरकारले अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा र भैरहवातर्फ आकर्षित गर्न विभिन्न शुल्कमा छुटसमेत दिएको छ। सरकारले २०८५ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई उडान-अवतरणसँग सम्बन्धित विभिन्न शुल्कमा छुट दिने व्यवस्था गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा पोखरामा अवतरण, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। प्राधिकरणका अनुसार यी छुटबाट एउटा वायुसेवाले प्रतिउडान करिब ७ लाख रुपैयाँसम्मको सुविधा पाउन सक्छ।अन्तर्राष्ट्रिय यात्रुबाट लिइने ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क र नेपाल पर्यटन बोर्डले लिने १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा समेत पोखरा र भैरहवा विमानस्थलका लागि छुट दिइएको छ। यस्तै यी विमानस्थलमा नेपाल आयल निगमले उपलब्ध गराउने हवाई इन्धनको मूल्यसमेत काठमाडौंको तुलनामा कम छ।नेपाल आयल निगमका अनुसार काठमाडौंमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर रहेकामा पोखरामा १ हजार २७५ र भैरहवामा १ हजार २६० डलर छ। यसअनुसार काठमाडौंको तुलनामा पोखरामा प्रतिकिलोलिटर इन्धनमा ४२२ डलर कम पर्छ।
७. प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन्।उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हन्।प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।
८.रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ।सबै खातामा गरी रु १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ।सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
९. यातयात व्यवसायी तथा श्रमिकहरुले कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन गरेका छन्।स्वतन्त्र चालक संघ नेपालको अगुवाईमा यातयात व्यवसायी तथा श्रमिकहरुले मंगलबार अस्पताल बाहिर प्रदर्शन गरेका हुन।काठमाडौंको त्रिपुरेश्वरमा सोमवार बसमा जलेर चालक अर्जुन दोङको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा दोङका परिवार र यातयात व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरुले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरुले ट्राफिक प्रहरीले अनाश्यक दुख दिने गरेको आरोप समेत लगाएका छन्।प्रदर्शनमा सहभागीहरुले सवारी चालकहरू माथी ट्राफिक प्रहरीले गर्ने ज्यादती बन्द गर्नुपर्ने, मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, चालक आयोग गठन गरेर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का महासचिव नवराज दाहालले राज्यले सवारी चालक र सहचालकलाई अन्याय गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले पीडितलाई उचित राहत दिएर दोषिलाई कारबाही नगरे श्रमिकहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।
१०.बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र रोमानिया लगायतका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।पीडितहरूबाट २० लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ३१ वर्षीया मनिषा सुनार र ३४ वर्षीय ठाकुर बहादुर सुनार, पाल्पा घर भई तारकेश्वर नगरपालिका-१६ बस्ने ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन्।प्रहरीका अनुसार अभियुक्तहरूले विभिन्न देश पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँ रकम असुलेका थिए। जसमध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिने भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए।त्यसैगरी, खोप बहादुरले रोमानियाका लागि २ लाख, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिने भन्दै ३ लाख ५० हजार र सिताले पोर्चुगल पठाइदिने प्रलोभनमा पारी ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी प्रहरीमा परेको थियो।
