
- नेता वामदेव गौतमले उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन्।
- आफू छानबिनका लागि तयार रहेको भन्दै उनले शीर्ष नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्ने बताएका छन्।
- वर्तमान सरकारले अहिलेसम्म कुनै पनि प्रभावकारी काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।
काठमाडौ – नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गौतमले राज्यका जिम्मेवार तहमा रहेका सबैको सम्पत्ति पारदर्शी हुनुपर्नेमा जोड दिए।
सम्पत्ति छानबिनका लागि व्यक्तिगत रूपमा तयार हुनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता गौतमले भने, ‘म किन नहुने ? हामीले त सम्पत्ति विवरण बुझाएको बुझाएकै छौं, हरेक वर्ष बुझाउनुपर्छ। म त छानबिनका लागि क्लियर छु, मलाई कुनै डर छैन।
उनले सबै शीर्ष नेताहरूको सम्पत्ति विवरण सार्वजनिक र छानबिन हुनुपर्ने धारणा राखेका छन।
सोही क्रममा नेता गौतमले वर्तमान सरकारको कार्यशैलीप्रति भने कटाक्ष गरे। सरकारको कामलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सरकारले पहिले काम गरोस् अनि भनूँला, अहिलेसम्म त काम गरेको देखेको छैन।
