
- प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदै छन्।
- भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न सम्झौता गरेका छन्।
- उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदै छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह आज भ्रमण सम्पन्न गरी नेपाल फर्किन लागेका हुन्।

भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। स्थानीय समयअनुसार बिहान ११ बजे भएको भेटमा नेपाल–भारतबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
उच्चस्तरीय वार्तापछि दुई देशबीच विभिन्न सहयोग तथा परियोजनासम्बन्धी सम्झौता र शिलान्याससमेत भएको थियो। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।
यसअघि आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए।
उक्त भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो।
नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
