
- प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली संगठनहरूले भेट गर्ने प्रयास असफल भएको छ।
- राजदूतावास र प्रधानमन्त्री कार्यालयबाट समय नपाउँदा प्रवासका समस्याबारे ज्ञापनपत्र बुझाउन नसकेको गुनासो छ।
- मतदान अधिकार र सुरक्षा लगायतका साझा समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने माग गरिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा ज्ञापनपत्र बुझाउने प्रयास असफल, नेपाली राजदूतावासले पनि भेटका लागि समय उपलब्ध गराउन नसकेको संगठनहरूको गुनासो।

अर्जुन थापा नयाँ दिल्ली। भारतमा रहेका नेपालीका साझा समस्या र हकहितका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउन खोजेका चार नेपाली संगठनले प्रधानमन्त्रीसँग भेट गर्ने समय नपाएको गुनासो गरेका छन्।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत, प्रवासी नेपाली संघ भारत र नेपाली जनसम्पर्क समिति भारतले संयुक्त रूपमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ज्ञापनपत्र बुझाउने तयारी गरेका थिए। तर प्रधानमन्त्रीको कार्यालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँग भेटका लागि समय माग्दा उपलब्ध हुन नसकेको भन्दै उनीहरूले संयुक्त प्रेस विज्ञप्तिमार्फत सात बुँदे माग सार्वजनिक गरेका छन्।
ज्ञापनपत्रमा प्रवासी नेपालीलाई मतदानको अधिकार, भारतमा आधार कार्ड प्राप्तिमा सहजता, दोहोरो नागरिकताको आरोपमा हुने पक्राउ तथा कानुनी समस्या, विद्यार्थी र बिरामीमाथिको विभेद, यात्राका क्रममा हुने लुटपाट तथा दुर्व्यवहार नियन्त्रणलगायत विषय उठाइएको छ।
प्रधानमन्त्रीको भ्रमणको छोटो समय र व्यस्त कार्यतालिकाका कारण भेट सम्भव नभएको हुन सक्ने भए पनि लाखौँ प्रवासी नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता महत्वपूर्ण विषयमा प्रतिनिधिमूलक संगठनसँग संवाद गर्ने समयसमेत नजुट्नु दुःखद भएको उनीहरूको गुनासो छ।
चार संगठनले राजनीतिक तथा वैचारिक भिन्नताभन्दा माथि उठेर प्रवासी नेपालीको साझा समस्या समाधानका लागि सरकारसँग पहल गर्न आग्रह गरेका छन्। अब प्रश्न उठेको छ भारतमा रहेका नेपालीका समस्या सुन्ने र समाधानको पहल गर्ने जिम्मेवारी कसको? प्रवासी नेपालीको अभिभावक मानिने नेपाली राजदूतावास र नेपाल सरकारले यस्ता साझा मागलाई कति प्राथमिकता दिन्छन्? प्रवासी नेपालीका समस्या केवल ज्ञापनपत्रमा सीमित नराखी सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने देखिन्छ। साथै अहिले साम्म कुनै पनि प्रधानमन्त्री आउदा यहाँका संस्था राजनीति गैरराजनीतिक सबैको कुरा सुने एउटा सानो समय प्रधानमन्त्री हरुले निकाल्ने गर्थे तर यो पल्ट भने यस्तो हुन नसक्नु प्रवासी हरुका लागि दु:खद खबर हो ।
