
- नेपाल ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
- ओमानलाई ६० रनमै समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए।
- शनिबार हुने फाइनल खेलमा अब नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं।नेपाल एसीसी प्रिमियर मेन्स कपको फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको वायोमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई नेपालले ८७ रनले पराजित गरेको हो। अब फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) संग शनिबार खेल्नेछ।

१४८ रनको मध्यम लक्ष्य लिएर मैदानमा उत्रिएको ओमान २८.१ ओभरमा मात्र ६० रनमा समेटियो। ओमानका लागि पूर्वकप्तान जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ६ ओभरमा मात्र ९ रन दिएर ३ विकेट हात पारे। उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि ३ विकेट तथा ललित नारायण राजंवशी र रोहित पौडेलले समान २–२ विकेट हात पारे।
यसअघि, टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४७ मात्र रनमा समेटियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रन जोडेका थिए। उनले ७६ बलमा ४ चौका प्रहार गरे। यस्तै, बसिर अहमदले ४७ रन जोडेका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरे। यी दुई ब्याटर बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन्।
