
- सन्धिखर्क–७ का वडाध्यक्षले ज्येष्ठ र अशक्त नागरिकका लागि घरदैलोमै सरकारी सेवा प्रदान गर्न सुरु गरेका छन्।
- वडा कार्यालय धाउनुपर्ने बाध्यता हटाउन कर्मचारी र जनप्रतिनिधि टोलटोलमा खटिएका छन्।
- सार्वजनिक बिदाका दिनसमेत सुरु गरिएको यो अभियानबाट स्थानीय बासिन्दा निकै लाभान्वित भएका छन्।
सागर मरासिनी , अर्घाखाँची । सन्धिखर्क नगरपालिका ०७ का वडाध्यक्ष चुरा बहादुर केसीको पहलमा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै टोल–टोलमै सरकारी सेवा प्रदान गर्न थालिएको छ।

सरकारी सेवा लिन नागरिकले वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै वडाध्यक्ष केसीले वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिलाई विभिन्न टोलमा खटाउँदै आएका छन्। नागरिकले सहज र सरल रूपमा सरकारी सेवा पाउनुपर्ने भन्दै उनले यस्तो अभियान सञ्चालन गरेका हुन्।
वडाध्यक्ष केसीका अनुसार पहिलो चरणमा भालुखोला क्षेत्रमा सेवा प्रदान गरिएको थियो भने दोस्रो चरणअन्तर्गत खाँचीकोट आदर्श माध्यमिक विद्यालय बाट आज सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा प्रदान गरिएको हो।
सार्वजनिक बिदाको दिन तथा वर्षाका बीच पनि ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई सहज होस् भन्ने उद्देश्यले सेवा निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ।
सेवा प्रवाहमा वडाध्यक्ष चुरा बहादुर केसीसँगै वडा सदस्य पुष्पा नेपाली, वडा सचिव सीता बिसी पराजुली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विक, कर्मचारी माया भट्टराई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरू बिहानैदेखि खटिएका छन्।
घरदैलोमै पुगेर सेवा प्रदान गर्न थालेपछि ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई वडा कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम भएको स्थानीयवासीले बताएका छन्। वडा कार्यालयले आगामी दिनमा पनि आवश्यकताअनुसार विभिन्न टोलमा पुगेर सेवा प्रदान गर्ने जनाएको छ।

