
- रसुवा लगायतका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी १७७ जनाको मृत्यु भएको छ।
- विपद्मा घाइते भएका ३३ जनाको उपचार भइरहेको छ भने २८ जना प्रहरी अझै बेपत्ता छन्।
- क्षतिग्रस्त क्षेत्रमा ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य जारी छ।
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ ।
विपद्मा परी घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, रसुवामा आएको बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ । विपद् प्रतिकार्यका लागि ३ हजार ३१८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने निजी सम्पत्तिमा समेत ठूलो क्षति भएको छ ।
