
- नेपाली कांग्रेसमा सभापति थापा र इतर पक्षबीच बढेको विवादले पार्टी विभाजनको जोखिम बढाएको छ।
- इतर समूहले आफ्ना माग सुनुवाइ नभए राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्ने रणनीति बनाएको छ।
- पार्टी जोगाउन सभापति थापाले परिपक्वता देखाउँदै सबै पक्षलाई मिलाएर लैजानुपर्ने चुनौती देखिएको छ।
काठमाडौ – आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ । विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापा र संस्थापन इतर पक्ष—पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूहबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ । इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादबाट भागेर एकलौटी ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।
वीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई पाखा लगाएर केवल युवा जोशका भरमा मात्रै पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ । तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो १५औँ महाधिवेशनअघि ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ्न सभापति गगन थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ । उज्यालो
