सिराहा । सिराहा मिर्चैया–१२ सिक्रोना निवासी राजेश कुमार यादव (पशु प्राविधिक तथा पशु चिकित्सा शास्त्रका विद्यार्थी) ले सामाजिक यथार्थ, मानवीय सम्बन्ध र मातृत्वको पीडालाई समेट्ने तीनवटा कविता सार्वजनिक गरेका छन् ।
‘संगत’, ‘समय बितिसकेपछि कसैको के काम’ र ‘मेरी स्वर्गीय आमा’ शीर्षकमा आएका यी कविताले आजको समाजमा देखिने बनावटीपन, मित्रताको वास्तविकता, समयको महत्व र आमाको अनुपस्थितिले छोएको गहिरो पीडा प्रस्ट्याएका छन् ।

कविता–१ : संगत
यदि संगतले सुध्रिने हो भने गुलाबको फूल वरिपरि काँडा हुन्नथ्यो होला,
यदि संगतले नै परिवर्तन ल्याउने हो भने कलिला बोटको जरामुनि गाँठो पनि हुन्नथ्यो होला ।
कोही भन्छन्— संगतले मान्छे सुध्रिन्छ भन्ने कुरा,
तर यो आँखाले देखेको प्रमाण अर्कै छ ।
यदि संगतले नै सुध्रिने हो भने एउटै बेञ्चमा बस्ने
तीन साथीमध्ये एउटा गोल्ड मेडलिस्ट,
बाकी दुई चार–चार विषयमा ब्याक लगाउने लाटो हुन्नथे होला ।
सत्य के हो भने अपवाद भन्ने कुरा पनि हुन्छ ।
तर मैले देखेको कुरा के भने,
संगतले भन्दा बिगार्ने घटना धेरै देखिएका छन् ।
मेरो छिमेकी दुनियाँभरि कुरा काट्ने वकिल र
उनैसँग दिनरात घुम्ने अर्को छिमेकी
बोल्न पनि नजान्ने लाटो हुन पुगेका छन् ।
यदि संगतले साँच्चिकै परिवर्तन ल्याउने हो भने,
मेरो नजिकका साथीहरू
एक गफाडी र अर्को अवसर आएपछि मात्रै
मिठामिठा कुरा निकाल्ने बाठो हुन्नथे होला ।
कविता–२ : समय बितिसकेपछि कसैको के काम
च्यातिएको किताबमा गाता जोडेपछि के काम ?
टुटिसकेको सम्बन्धमा नाता–गोता जोडेर के काम ?
पानीमा भिजिसकेको बेलामा
मुस्कानसहित दिएको छाताले के काम ?
दुःखमा गिज्याएर हाँस्ने र
सुखमा मात्र नाच्ने नाताको के काम ?
चोट लागेको बेला मलम नदिई
ढिलो गरी जुत्ता ल्याइदिन्छु भन्ने
त्यो वाचा राखेर के काम ?
बोलिमात्र रमाउने तर
मुटु पोलिरहेको थाहा नपाउने
त्यो मित्रताको के काम ?
किन गर्छन् मान्छेहरूले
यति बनावटी कुराहरू आफ्नोपनको ?
समय पर्थ्यो भने लुक्ने
त्यस्ता सम्बन्धहरूको के काम ?
कविता–३ : मेरी स्वर्गीय आमा
धेरै दुःख पाएँ, आमा, तिमीले साथ छोडेदेखि ।
चारैतिरबाट हरेस खाएँ, आमा, तिमीले साथ छोडेदेखि ।
तिमी बिना एक्लो भएँ,
खुशी कतै भेटिँदैन भनेर चारैतिर दौडिएँ,
आमा, तिमीले साथ छोडेदेखि ।
जति उमेर बढ्दै गयो, आवश्यकता पनि बढ्दै गयो,
तर सबैले स्वार्थ मात्रै देखाए,
आमा, तिमीले साथ छोडेदेखि ।
चोट लाग्दा गिज्याएर हाँस्ने,
सुख पाउँदा मात्र नजिकिने यो शहर भेटेँ,
आमा, तिमीले साथ छोडेदेखि ।
सपना भित्र पनि सम्झिरहन्छु तिमीलाई,
यो बिरानो शहरमा,
आमा, तिमीले साथ छोडेदेखि ।
सुनेको थिएँ— संसारमा सबै कुरा पाइन्छ रे,
तर आमा पाइँदैन भन्ने कुरा
तिमीले साथ छोडेपछि मात्र थाहा पाएँ ।
आमा नभएको पीडाको अर्थ के हो
गहिरो गरी बुझ्न थालेँ,
आमा, तिमीले साथ छोडेदेखि ।
“स्वार्थी संसार” “कविता”
यो जिन्दगीमा कसैको आश छैन, यो जिन्दगीमा कोई खास छैन,दिन र रात दुबै छन तर त्यो सुनौलो पलको आभाष छैन।।
खै कता हरायो ती खुसीका पलहरु ,दुखै दुखको समुद्रमा डुबिदै छु म , किनारा लगाउने कुनै हात छैन।।
यो स्वार्थको दुनियामा कोई आफ्ना भने पनि छन भन्ने कुराको आभाष छैन।
तेहि भएर त कोई खास छैन ,स्वार्थीहरुको बिचमा आफ्ना पनको आभाष छैन।।
नियतमा खोट मनमा पाप र ओठमा मिठास लगएर आफ्नोपनको नाटक गर्ने लाई पहिचन्ने ब्राह्ममास्त्रा छैन ।।
– लेखक : राजेश कुमार यादव
(पशु प्राविधिक तथा पशु चिकित्सा शास्त्रका विद्यार्थी)
ठेगाना : सिराहा, मिर्चैयाँ–१२, सिक्रोना
