
- अक्कल कोपिला फाउन्डेसनले हुम्लाको पुद्दुकोट आधार विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
- दुर्गम क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
- सहयोगले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
- रतन रावल मुगु अक्कल कोपिला फाउन्डेसनले हुम्लाको दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराको सहयोगमा अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित पुद्दुकोट आधार विद्यालयका ७० जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले कापी, कलम तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक लगबहादुर बुढाका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस सहयोगले बालबालिकाको अध्ययनमा थप उत्साह र हौसला प्रदान गर्ने विश्वास लिइएको छ । उहाँले आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि यो सहयोग निकै महत्वपूर्ण भएको बताउनुभयो ।
शैक्षिक सामग्री सहयोगका लागि आवश्यक पहल तथा समन्वय सञ्चारकर्मी मोहनसिंह बुढाले गर्नुभएको थियो । उहाँको पहलमा अक्कल कोपिला फाउन्डेसनसँग समन्वय गरी विद्यालयका विद्यार्थीहरूका लागि सहयोग जुटाइएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर बुढाले दुर्गम गाउँका बालबालिकाको शिक्षामा सहयोग पु¥याएकोमा अक्कल कोपिला फाउन्डेसन र अध्यक्ष अक्कल बोहोराप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यार्थीहरूलाई विद्यालयप्रति आकर्षित गर्न र शैक्षिक गुणस्तर सुधार गर्न मद्दत पुग्ने बताउनुभयो ।
स्थानीय अभिभावकहरूले पनि दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकाका लागि गरिएको सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
अक्कल कोपिला फाउन्डेसनले विगतदेखि नै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पुद्दुकोट आधार विद्यालयमा गरिएको यो सहयोगले विद्यालयका ७० जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पुगेको छ भने दुर्गम क्षेत्रमा शिक्षाको विकासका लागि निजी तथा सामाजिक क्षेत्रको सहकार्य आवश्यक रहेको सन्देशसमेत दिएको छ । बोहोराले यस अघि आफ्नो गृह जिल्लामा सामाजिक कार्य गर्दै आउनु भएको थियो भने हुम्लामा उहाँले पहिलो पटक सहयोग गर्नु भएको हो । बोहोरा शसस्त्र प्रहरीका पुर्ब राष्ट्रिय धावब हुन । उहाँले गत बर्ष मात्र सगरमाथाको सफल आरोहण गर्न सफल हुनु भएको थियो । हाल स्पेनमा उहाँले रारा नामक बार एण्ड क्याफे संञ्चालन गर्दै आउनु भएको छ ।
