सिन्धुली — सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा सुरक्षित अवस्थामा फेला पारेको छ।

१६ सदस्यीय परिवार पोखरा महानगरपालिका–३०, गगनगौडामा दुई फरक घरमा भेटिएका हुन्।
कास्की प्रहरीका अनुसार १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी ४ जना चन्द्र भण्डारीको घरमा आश्रय लिएको अवस्थामा फेला परेका थिए।
परिवारलाई मंगलबार वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको हो। उनी हराएकी कमला हायुका श्रीमान् हुन्।
गाउँ छाड्ने शैली रहस्यमय प्रहरी अनुसन्धानअनुसार, शनिबार राति १ बजे सिन्धुली तीनपाटन–३ निवासी नवीन विकको मधेस प्रदेश ०४–००१–००८१ नम्बरको इभी भ्यानमार्फत सिन्धुलीको बलेनीबाट खनियाँखर्क, हेटौंडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए। त्यसपछि लेकसाइडस्थित होटल जननीमा बास बसेर आइतबार दिउँसो पोखरा-३० गगनगौडा पुगेका थिए।
स्थानीयहरूका अनुसार, हायु परिवारले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई बस्तुभाउ त्यत्तिकै छाडेका थिए।
भान्सामा आगो सल्किएको अवस्थामा छाडिएको विवरणले घटनालाई झनै रहस्यमय बनाएको छ।
धामीको सुझावमा गाउँ छाडेको दाबी प्रारम्भिक बयानमा परिवारका सदस्यहरूले ‘बेलाबेलामा बिरामी पर्ने’ समस्या रहेकाले एक धामीले त्यो ठाउँ छाड्न सुझाव दिएका कारण गाउँ छाडेको’ बताएका छन्। हाल प्रहरी अनुसन्धान जारी छ भने मानसिक अवस्था, धार्मिक आस्थासम्बन्धी पक्ष पनि बिश्लेषणको घेरामा रहेको प्रहरीको भनाइ छ।
सिन्धुली प्रहरीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार, हराएका परिवारको खोजी भइरहँदा सोमबार साँझ पोखरामा सुरक्षित रूपमा फेला परेको हो।
