काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफू नक्खु कारागारमा आगजनी रोक्न खोजेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको तीन सेकेन्डको भिडियोलाई अतिरञ्जित गरेर प्रस्तुत गरिएको आरोप लगाएका छन् ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने बाहिर निस्किएका थिए । सो क्रममा झा संलग्न भएको देखिने भिडियो सार्वजनिक भएपछि उनले मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आफूलाई गलत ढंगले चित्रित गरिएको स्पष्ट पारे ।
“मलाई राजनीतिबाट हटाउने षड्यन्त्र स्वरूप भिडियो क्लिपलाई तोडमोड गरेर प्रस्तुत गरिएको हो । अपराधी मानसिकताका केही व्यक्तिले मेरो छवि धुमिल पार्न खोजेका छन्,” झाले भने । उनले घटनाबारे निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन् ।
उक्त बैठकमा हालै पार्टीबाट राजीनामा दिएकी केन्द्रीय सदस्य सुमना श्रेष्ठलगायतबारे पनि छलफल भएको उनले जानकारी दिए । “स्थापनाकालदेखि पार्टीमा योगदान पुर्याउँदै आएकी सुमना श्रेष्ठको भूमिकालाई रास्वपाले सम्मान गर्दछ,” प्रवक्ता झाले बताए ।
श्रेष्ठले पार्टीमा रहेर अघि सारेका अभ्यासलाई सम्बोधन गर्न नसक्दा राजीनामा दिनुपरेको झाको भनाइ छ ।
